आन्दोलनको स्वरुप परिवर्तन गर्ने मधेसी मोर्चाको संकेत
काठमाडौं, माघ २० ।
मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब बस्ने बैठकले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने जनाएको छ । रिपोर्टर्स क्लबमा बुधबार गरिएको साक्षात्कारमा उनीहरुले एकै खाले आन्दोलन लामो समयसम्म लैजान नसकिने र आन्दोलनले सबैभन्दा बढी तराई मधेसकै जनता पीडित बन्दै गएकोले स्वरुप परिवर्तन गरेर नयाँ कार्यक्रम ल्याउने बताए ।
तराई मधेस सदभावना पार्टीका नेता राम नरेश रायले कुनै पनि आन्दोलन एकै रुपले धेरै अगाडिसम्म लिएर जान नसकिने भन्दै मोर्चाको बैठकले आन्दोलनको समिक्षासहित पुनरावलोकन गर्ने बताए । उनले आफुले सचिवालयमा आन्दोलन परिमार्जनको विषयमा प्रर्याप्त छलफल गरेकोले मोर्चाको बैठकमा त्यही कुरा राख्ने बताए ।
रायले पाँच महिना लामो आन्दोलनलाई सरकारले नटेरेकोले पनि आन्दोलनको स्वरुप परिवर्तन आवश्यक भइसकेको भन्दै अबको आन्दोलनलाई उचाइमा पुर्याउन मधेस केन्द्रित आन्दोलनलाई पहाड हिमालसम्म पुर्याउन आवश्यक रहेको तर्क गरे ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अबको आन्दोलन मधेस र नाकामा मात्र नभई राजधानी केन्द्रित हुने र त्यसको लागि स्वरुप परिवर्तन आवश्यक भएको तर्क गरे ।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले आन्दोलनले मधेसी जनता सबैभन्दा मारमा परेकोले आफूहरु आन्दोलन रोक्न आतुर रहेको भन्दै यसको लागि जायज मागको तत्काल सम्बोधन हुनुपर्ने धारणा राखे ।
२० माघ २०७२, बुधवार ११:५९ बजे प्रकाशित