विदेश जानेको संख्यामा ६१ हजारले कमी
सुस्मिता बजगाईं
काठमाडौं, माघ १७ – चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार श्रावणदेखि पौषसम्म गएको वर्षको यही अवधीमा भन्दा ६१ हजार १८ जना कम कामदार वैदेशिक रोजगारीमा गएका छन् ।
गएको वर्ष यो अवधीमा २ लाख ७१ हजार ३ सय ३९ जना गएकोमा यसवर्ष दुई लाख १० हजार ३ सय १५ जना मात्रै विदेश गएका छन् । देशमा देखिएका विभिन्न समस्याका कारण विदेश जाने कामदार घटेको यस क्षेत्रमा कार्यरत निकायले बताएका छन् ।
अन्य देशमा जाने कामदार बढे पनि मलेसिया जाने कामदारको संख्या भने धेरैले घटेको छ । मलेसिया जाने कामदारको संख्या अत्याधिक घटेकाले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको हो । गएको वर्षको तुलनामा मलेसिया जाने कामदारको संख्या मासिक १६ हजारले कमी आएको छ ।
गएको वर्ष मलेसिया मासिक २० हजार जाने गरेकोमा यस वर्ष पुसमा ४ हजार मात्रै गएको विभागको तथ्यांक छ । पुसमा साउदी अरेबियामा १३ हजार ९१ जना र कतारमा १० हजार ६ सय २५ जना गएका छन् ।
गएको वर्ष सबै भन्दा बढी मलेसिया गएकोमा यस वर्षको ६ महिनामा सबैभन्दा बढी साउदी अरेबियामा ६६ हजार ८ सय ५० जना र कतार ६४ हजार ७ सय ५२ जना गएका छन् । मलेसिया जानेको संख्या ३५ हजार ३ सय ३५ मात्रै छ । यस्तै युएइ २६ हजार ४ सय ७ जना र कुवेत ५ हजार १ सय ७० जना गएका छन् ।
१७ माघ २०७२, आइतवार १०:१० बजे प्रकाशित













