तालिम सकिएकै दिन रोजगारी
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित मखमल र ढाकाको जुत्ता तथा चप्पल बनाउने पन्ध्रदिने सीपमूलक तालिमका १५ सहभागीले तालिम सकिएकै दिन रोजगारी पाएका छन् । नगरपालिकाको रु ७५ हजार आर्थिक सहयोगमा उत्कृष्ट महिला समूह आरुबारीले गत वैशाख २५ गतेदेखि सञ्चालन गरेको तालिम आज समापन भयो । समापन कार्यक्रममा तालिमका प्रशिक्षक ‘उत्कृष्ट ह्यान्डिक्राफ्ट’का सञ्चालक जसुदा आचार्यले उनीहरुलाई रोजगारीको घोषणा गरी काममा लगाए । तालिममा ३० महिला सहभाग थिए । सञ्चालक आचार्यका साथै मञ्जिता लामा, शर्मिला भट्टराई र रजनी आचार्यले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । तालिमपछि १५ गृहिणीले घर नजिकै मासिक सरदर रु १५ हजारको रोजगारी पाउने छन् । समापन कार्यक्रममा नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, जोरपाटी गाविसका पूर्व उपाध्यक्ष सन्तोष चालिसे लगायतले टोल छिमेकमै स्वरोजगारका रचनात्मक कार्यक्रम सञ्चालन गरी बेरोजगारी समस्या समाधानमा सहयोग गरिनुपर्ने बताए ।
९ जेठ २०७३, आइतवार १५:५९ बजे प्रकाशित