इन्धन वितरणलाई ब्यवस्थित बनाउन समिति गठन
काठमाडौं, ३ चैत्र । भारतबाट आपूर्ति भइरहेको इन्धन र ग्यासको वितरण प्रणाली प्रभावकारी बनाउने सम्बन्धमा सुझाव दिन उच्चस्तरीय दुई समिति गठन गरिएको छ । आपूर्ति मन्त्रालयले मुलुकभर ग्यास र इन्धनको वितरण र ढुवानी प्रणालीलाई प्रभावकारी बनाउन छुट्टाछुट्टै समिति गठन गरेको हो ।
ग्यासका लागि आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख संयोजक रहने गरी उपभोक्तावादी, नेपाल आयल निगम, नेपाल एलपी ग्यास उद्योग संघ, ग्यास वितरक संघ र आपूर्ति मन्त्रालयको संस्थान शाखा प्रमुख सदस्यसचिव रहने गरी ६ सदस्यीय समिति गठन गरिएको छ ।
मन्त्रालयले इन्धनको वितरण प्रणाली सुधार गर्न भन्दै आपूर्ति मन्त्रालयको प्रशासन नीति योजना तथा अनुगमन महाशाखाको प्रमुख संयोजक रहने गरी ६ सदस्यीय अध्ययन समिति गठन गरेको छ । यो समितिमा नेपाल आयल निगम, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, पेट्रोलियम ढुवानी एसोसिएसन, उपभोक्तावादी र सोही मन्त्रालयको आपूर्ति, बजार अनुगमन तथा नियमन शाखाको प्रमुख सदस्य सचिव रहने गरी समिति तयार पारिएको छ ।
समितिले दिएको सुझावको आधारमा नयाँ वितरण प्रणाली बनाएर कार्यान्वयनमा ल्याउने मन्त्रालयको तयारी छ । दुवै समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।
३ चैत २०७२, बुधवार ०३:४४ बजे प्रकाशित