चौरजहारी प्रहरीचौकीका सबै प्रहरीलाई कारवाही गरियोस् – बिसुन्के
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती कुमारी बिसुन्केले रुकुम पश्चिम चौरजहारी प्रहरी चौकीका सबै प्रहरीलाई कारवाही गर्न माग गरेकी छन् ।
प्रहरीको लापरवाहीका कारण जेठ १० गते ६ जनाको ज्यान जाने गरी घटना घटको भन्दै उनले प्रहरीलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएकी हुन्
जेठ १० गते रुकुम पश्चिमको चौरजहारी प्रेमिकासँग विवाह गर्न साथीसहित गएका जाजरकोटका नवराज विकको हत्या भएको थियो । उनीसहित ६ जना साथीको शव भेरी नदीमा भेटिएको छ । घटनामा १२ जना घाइते भएका छन् ।
घटना भएको १० दिन भइसक्दा समेत सरकारले घटनाबारे यथार्थ सार्वजनिक गर्न नसकेको भनेर संसद र संसदबाहिर सरकारको विरोध भइरहेको छ । यहि बेला सांसद बिसुन्केले चौरजहारी प्रहरीचौकीका सबै प्रहरीलाई कारवाहीको माग गरेकी छन् ।
‘चौरजहारी प्रहरी चौकीमा कार्यरत सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ । जाजरकोटबाट पुगेका दुईजना प्रहरीसहित चौरजहारी चौकीका सबैलाई कारबाही गरियोस्,’ उनले भनेकी छन् ।
२१ जेठ २०७७, बुधवार ०२:५५ बजे प्रकाशित













