नेकपा सचिवालय बैठक, ओलीले संगै राखे प्रचण्डलाई

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । अघिल्लो बैठक भन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ ।

अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फका साइडमा थिए । ४ बजेका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण डेढ घण्टा पछि सरेको थियो ।

गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

त्यसपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । आजको बैठक अघि प्रधानमन्त्री ओलीले गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए । उनीहरुबीच के छलफल भयो भन्ने कुरा आईसकेको छैन ।

सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । राष्ट्रपतिलाई भेट्नुअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । बामदेवसँगै सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग ओलीले छलफल गरेका थिए ।

२० वैशाख २०७७, शनिवार १२:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु