पार्टी फुटाएर सरकारमा जाने इस्तियाकको तयारी, उपेन्द्र यादवलाई छटपटी

काठमाडौं । समाजवादी पार्टीका सचिव एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राई अहिले मात्र होइन, केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकै बेलादेखि समाजवादी पार्टी छाड्ने मुडमा थिए । उनले नेकपामा जानका लागि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग पटक पटक कुरा गरेका थिए ।

यो कुरा समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थाहा पाएपछि इस्तियाकलाई फोन गरेर त्यस्तो गल्ती नगर्न सुझाव दिएका थिए । त्यतिबेला राइले ‘त्यस्तो केही छैन, बजारमा हल्ला मात्र हो’ भन्दै मुख्यमन्त्री राउतलाई सम्झाएका थिए ।

प्रधानमन्त्री ओली र इस्तियाक राइ बीच कस्तो सम्बन्ध थियो भने कुरा मन्त्री हेरफेरको घटनाले पनि पुष्टि गरेको थियो । एक राज्यमन्त्रीसहित पार्टीबाट दुईजना मन्त्री सरकारमा थिए । प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दा उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिदिए र डा. सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट बर्खास्त गरिदिए । तर इस्तियाक राइलाई प्रधानमन्त्री ओलीले चलाएनन् ।

बरु प्रधानमन्त्री ओली र इस्तियाकबीच सम्बन्ध अझै राम्रो हुँदै गयो । उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरेकोमा भित्रभित्रै खुशी थिए इस्तियाक राइ । प्रधानमन्त्री ओलीसँग तिक्तता बढ्दै गएपछि अध्यक्ष यादव मन्त्रीपरिषद्को बैठकमा समेत जान छाडेका थिए तर इस्तियाक राई मन्त्रिपरिषद्मा निरन्तर सहभागी हुन्थे । समाजवादी पार्टीमा हुने गतिविधिको बारेमा इस्तियाक राइमार्फत नै ओली सबै कुरामा अपडेट हुन्थे ।

पछि कानुन मन्त्रीको हैसियतमा उपेन्द्र यादवले संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्नुपर्ने भन्दै मन्त्रीपरिषद्मा प्रस्ताव लगे । सो प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार मात्र गरेनन् उपेन्द्र यादवप्रति अपमानजनक शब्द पनि प्रयोग गरे ।

यो घटनापछि उपलब्ध पदाधिकारीको बैठक चलिरहँदा उपेन्द्र यादवलाई सोही पार्टीका उपाध्यक्ष रेणु यादवले खबर सुनाइन्, ‘तपाईंले मन्त्री पदबाट राजीनामा नदिए, प्रधानमन्त्री ओलीले आजै बर्खास्त गरिदिनुहुन्छ ।’ यो कुरा सुनेपछि अध्यक्ष यादवले हत्तपत्त राजीनामा दिएका थिए । पदाधिकारी बैठक पछि संसदीय दलको बैठक बस्नका लागि नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आउँदै गर्दा यादवले हतार-हतारमा सदा कागजमै आफ्नो राजीनामा लेखेर प्रधानमन्त्री कार्यालय पठाएका थिए ।

यति हुँदा पनि इस्तियाक राइ राजीनामाबारे बेखबर थिए । अध्यक्ष यादवले राजीनामा दिए पनि आफूले दिन नपर्ने कुरामा उनी ढुक्क थिए । किनभने प्रधानमन्त्री अ‍ोलीले पनि राजीनामा दिन आवश्यक छैन भनि इस्तियाकलाई भनेका थिए । तर, पार्टी नै सरकारबाट बाहिरिने भन्दै यादवले राइलाई मन्त्रीबाट राजीनामा दिन लगाए । राजीनामा दिँदा पनि राइले प्रधानमन्त्री अ‍ोलीलाई धन्यवाद नै दिएका थिए ।

इस्तियाक राइले मन्त्रीबाट राजीनामा दिइसकेपछि पनि प्रधानमन्त्री ओलीको निरन्तर सम्पर्कमा थिए । समाजवादी पार्टी स्रोत भन्छ, काठमाडौं आएपछि उनी सिधै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जान्थे ।

अहिले यो कोरोना भाइरसका कारण गरिएको लकडाउनमा इस्तिायर राइ राहत वितरणमा सक्रिय छन् । आफ्नो क्षेत्रमा गरीब, मजदुर तथा समस्यामा परेकालाई सहयोग गरिरहेका छन् । अध्यादेश पारितपछि भइरहेको चर्चाप्रति उनले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् ।

तर उनी भन्छन्, ‘पार्टीले जारी गरेको विज्ञप्ति नै मेरो पनि धारणा हो ।’ पार्टी विभाजनको बारेमा जिज्ञासा राख्दा उनले अहिले नै पार्टी फुट्ने अवस्था नभएको तर भोलि के हुन्छ थाह नभएको प्रतिक्रिया दिए । उनले समाजवादी पार्टीमा विवाद रहेको कुरा स्वीकार गर्दै भने, ‘समाजवादी पार्टीमा मात्र होइन, हरेक पार्टीमा विवाद हुनु समान्य कुरा हो । यसले पार्टी नै विभाजन हुने अवस्था छैन ।’

उनले आफू बालुवाटारको निरन्तर सम्पर्कमा रहेको पनि स्वीकार गरे । यद्यपि, उनले छलफलमा पार्टी विभाजनको विषयमा कुनै कुराकानी नभएको दावी गरे ।

तर, स्रोत भन्छ, राइलाई पार्टीका सांसद राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, विमल श्रीवास्तव, रेणुका गुरुङ, उमाशंकार अररिया लगायतले साथ दिएका छन् ।

‘समाजवादी पार्टी बनेदेखि मधेशी नेताहरुको कुनै महत्त्व छैन । मधेशी नेताहरुलाई उपेन्द्र यादवले किनारा लगाइएको छ,’ ती सांसदले भने, ‘उहाँ उपेन्द्रले आफ्नो मान्छेलाई नै चिन्न सक्नुभएन । सबैसँग दुरी बनाएर राख्नुभयो । त्यसैको नतिजा हो आज उपेन्द्र यादवलाई कसैले साथ दिइरहेका छैनन् । समय सधैँ एउटै रहँदैन ।’

उपेन्द्र यादवलाई छटपटी

सरकारले पास गरेको दल विभाजनसम्बन्धी अध्यादेशले अहिले सबैभन्दा बढी तनाव कसैलाई भएको छ भने ती हुन् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ।

उनको दाबी छ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सो अध्यादेश आफ्नै पार्टी फुटाउनका लागि ल्याएका हुन् । अध्यादेश ‘सुपर फास्ट ट्रयाकमा’ प्रमाणिकरण भएर राजपत्रमा प्रकाशित भएसँगै उनी पार्टीलाई फुटबाट जोगाउन सक्रिय बनेका छन् ।

अध्यादेश आएपछि उनी यति बेचैन थिए कि राति नै आफ्ना सबै सांसदलाई फोन गरेर ‘हालखबर’ सोधेका थिए । पार्टी फुटाउन सक्ने शंका लागेका सांसदहरुलाई त यादवले पटक–पटक फोन गरेका थिए ।

एक सांसदले भने, ‘म नै अचम्ममा परेको थिएँ । राति १० बजे अध्यक्षज्यूले फोन गर्नुभयो । यसरी यति राति मलाई उहाँले कहिल्यै फोन गर्नुभएको थिएन । तर हिजो अचानक फोन गरेर के छ हाल खबर भनेर सोध्नुभयो । लकडाउनमा कसरी बसिरहनुभएको छ रु बालबच्चा कस्तो छ भनेर पनि सोध्नुभयो रु वहाँको अगाडि हुँदा पनि यस्तो प्रश्न कहिल्यै सोध्नुहुन्थेन ।’

सरकारले यो अध्यादेश राजपा र समाजवादी पार्टीलाई नै लक्षित गरेर ल्याइएको दावी गर्दै अध्यक्ष यादवले राजा महाराजको पाला जस्तै दलहरुलाई कमजोर बनाउने र शासन गर्ने काम अहिलेको सरकारबाट भइरहेको जिकिर गरे ।

सचिवालयको बैठकमा नै यो अध्यादेश मधेशी दलका लागि लक्षित गरेर ल्याएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दाबी पनि अध्यक्ष यादवले गरे ।

ती सांसदलाई यादवले दुई पटक फोन गरेका थिए । पहिलो पटकको फोनमा अनौपचारिक कुराकानी गरेका यादवले दोस्रो पटक फोन गर्दा भने ‘पार्टीमा के भइरहेको छ ? अहिले पार्टीभित्र अनेक हल्लाहरु आइरहेका छन्, तपाईंलाई केही थाहा छ ?’ भन्दै सोधखोज गरेका थिए । उनले अन्य सांसदहरुसँग पनि यसरी नै सोधखोज गरेका थिए ।

सांसद तथा पार्टीका नेताहरुसँगको कुराकानी पछि नै आफ्नो पार्टी फुटाउन राज्य नै लागेको सूचना पाएको अध्यक्ष यादव बताउँछन् । अध्यक्ष यादवले भने, ‘बोराको बोरा पैसा बोक्दै सांसद खोज्दै हिँड्या छ । प्रजिअलाई लगाएको छ, गृहसचिवलाई लगाएको छ, प्रशासनलाई लगाएको छ, सांसदहरुलाई धम्काउने, प्रलोभन दिने, मन्त्री पदको आशा देखाउने काम भएको छ ।’

अध्यक्ष यादवले अहिले नै पार्टी फुट्ने अवस्थामा नपुगेको तर आफू नेताहरुको निरन्तर सम्पर्कमा रहेको बताए ।

उनले सबभन्दा बढी आशंका पार्टीका सचिव एवं पूर्वमन्त्री राइमाथि आशंका गरेका छन् । पार्टी सचिव इस्तियाक राइले ४० प्रतिशत सांसद ठीक पारेर राखेको सूचना उपेन्द्र यादवसमक्ष पुगेको छ ।

१० वैशाख २०७७, बुधवार ०२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु