कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर(पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।

उनको मृत्यु लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको जानकारी हृयारो निवासी जयलक्ष्मी राईले बताइन् ।

लिलाबहादुर ब्रिटिस गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए ।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्‍याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।

मृत्युको कारण कोभिड १९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो ।

अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।

संखुवासभा समाज, वेलायतले राई परिवार आइसोलेशनमा रहेकाले अहिले समवेदना व्यक्त गर्न नजान जिल्लावासीका लागि सूचना जारी गरेको छ ।

८ चैत २०७६, शनिवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु