पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्ने विषयले सेनाभित्र तहल्का
काठमाडौं – नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन गर्नुपर्ने संसदीय समितिको सुझावपछि नेपाली सेनाभित्र तहल्का मच्चिएको छ ।
गत बिहिबार संघीय संसदको राज्यव्यवस्था समितिमा परेको उजुरीमाथि अध्यन गर्न गठित कार्यदलले पूर्व प्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउन सुझाव दिएको थियो ।
यदि अख्तियारमा यो सुझावसहितको पत्र गयो र अनुसन्धान भयो भने इतिहासमा प्रधानसेनापति छानविन पहिलो पटक भएको हुनेछ । अर्थात, प्रधानसेनापतिमाथि हालसम्म अनुसन्धान भएको रेकर्ड छैन ।
छानविन गर्न सुझाव दिने सांसदलाई क्षेत्रीले गुपचुप भेटेको खबर पनि आएको छ । तर, यसको औपचारिक पुष्टी भएको छैन ।
क्षेत्री प्रधानसेनापति भएका बेला फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि अर्बौं रकम भ्रष्टाचार गरेको भनि समिति समक्ष छानविनका लागि निवेदन आएको थियो ।
सोही निवेदनको आधारमा अध्ययन गर्न गठन भएको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा राज्यव्यवस्था समितिले छानविनका लागि अख्तियारलाई पत्र पठाउने सुझाव रहेको समितिका सदस्य अमरेश कुमार सिंहले जानकारी दिए ।
उपसमितिमा काँग्रेस सांसद दिलेन्द्र प्रसाद बडु, नेकपाका रेखा शर्मा र नवराज सिलवाल थिए ।
४ फागुन २०७६, आइतवार १६:४२ बजे प्रकाशित





