सभामुखमा कसैले जिब्रो नचिस्याए हुन्छ : विष्णु पौडेल
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सभामुख चयनका विषयमा नेकपाभित्र अन्तर्विरोध ल्याउने प्रयास भएको आरोप लगाएका छन् ।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सभामुखका विषयमा पार्टीमा अन्तरविरोध ल्याएर फाइदा लिन सकिन्छ कि भन्ने प्रयास भएको बताएका हुन् ।
‘सभामुख र उपसभामुखको प्रश्नमा नेकपाभित्र अन्तर्विरोध ल्याउने र यो अन्तर्विरोधको प्लालबाट छिर्न खोज्दैछन् । त्यो बेकारको मृगतृष्णा हो’ उनले भने ।
महासचिव पौडेलले सभामुख र उपसभामुखका विषयमा नेकपाले हार्दिकतापूर्ण निर्णय लिएर आउने जिकिर पनि गरे । ‘ककसलाई के के भन्न मन लाग्छ भन्दै गरे हुन्छ । के के लेख्न मन छ लेखे हुन्छ, तर हामी हार्दिकतापूर्वक निर्णय लिएर आउछौं’ उनले भने ।
नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मत नमिल्दा संसद बैठक नै चल्न सकेको छैन । नेकपा तत्कालीन एमालेबाटै निर्वाचित भएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि पार्टी संसदीय दलको बैठकले निर्णय गरे पनि राजीनामा दिएकी छैनन् ।
सभामुख चयनबारे उनको धारणा जस्ताको जस्तै
दुई वटा पार्टीबीचको एकताबाट नेकपा निर्माण भएको छ । नेकपाको बारेमा, यसको भविष्यको बारेमा मानिसहरुले रंगिविरंगी आशंकाहरु गर्ने गर्दछन् । कतिपय सानातिना घटनाबाट कतिपयको जिब्रो रसाउन पुग्छ ।
अहिले हामीलाई थाहा छ, सभामुखको प्रसंग आइरहेको छ । सभामुखको प्रसंग आएपछि कतिपय त्यसखालका तत्वहरु, नेकपाको अग्रगति, प्रगति देख्न नचाहने प्रवृत्तिहरुका जिब्रो रसाएका छन् । हो न हो सभामुखको प्रश्नमा नेकपा अन्तरविरोध गर्छ । यही प्वालबाट छिरेर नेकपालाई संकटमा धकेल्न सकिन्छ भन्ठानिरहेका छन् । भन्न चाहन्छु– यो बेकारको मृगतृष्णा हो । यस्तो मृगतृष्णा पूरा हुनेवाला छैन । कत्रा कत्रा चुनौतीको सामना गरेर, कत्रा कत्रा अन्तरविरोधहरुलाई किनारा लगाएर आएका छौं ।
लुकेको कुरा होइन– तत्कालिन एमाले र माओवादी केन्द्रका सम्बन्धको स्मरण गर्छौं भने हाम्रा बीचका सम्बन्ध कटुतापूर्ण होइन, खास खास बेलामा सत्रुतापूर्ण सम्बन्धहरु थिए । हामीले भन्ने गरेका थियौं, सके निल्छौं नसके मिल्छौं । या त निल्ने या त मिल्ने यस खालको नीति थिए हाम्रा । एकले अर्कालाई किनारा गर्नका लागि कुनै कसर बाँकी राखेनौं ।
इतिहासका अनेक खालको तितामिठा अनुभवलाई लिएर, इतिहासले सिकाएको पाठबाट सिकेर, इतिहासले दिएको निर्देशलाई आत्मसाथ गरेर राष्ट्र र जनताको आवश्यकतालाई केन्द्र भागमा राखेर नेकपाको निर्माण गरेको हो । यो कुनै गुच्चा खेलेको होइन । सचेतन ढङ्गले, सुविचारित ढंगले पार्टी एकता सम्पन्न गरेको हो ।
हामीलाई राम्रोसँग थाहा थियो– पार्टी एकता सम्पन्न नगर्ने हो भने संविधानमा जनताका अधिकारलाई संस्थागत गरिए पनि, संविधानमा समाजवादतर्फ उन्मुख भनिएको भए पनि शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्न सकेनौं, कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न सकेनौं भने, कम्युनिस्ट पार्टीका नीतिलाई राज्यको नीतिमा बदल्न सकेनौं भने संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न पाउने छैनन् ।
यो सोचाइद्वारा निर्देशित भएर हामीले पार्टी एकता गरेका हौं । यो पार्टी एकता कसैले धारे हात लगाउँदैमा कमजोर हुनेवाला छैन् । हाम्रो पार्टीभित्र विवाद सिर्जना गरेर, नेताहरुका बीचमा अन्तरविरोध सिर्जना गरेर नेकपालाई कमजोर पार्ने सपना प्रतिगामी कित्ताले देख्ने गर्दछ । त्यो सपनालाई साकार हुन दिने छैनौं । हामी पार्टी एकतालाई अक्षुण जोगाएर जान्छौं । नेकपा एकताबद्ध भएर अगाडि बढ्छ ।
सभामुखुको प्रश्नमा भन्न चाहन्छु– को को लाई के के भन्न मन लाग्छ भन्दै गरे हुन्छ । कसकसलाई के के लेख्न मन लाग्छ लेख्दै गरे हुन्छ । सभामुखको प्रश्नमा नेकपा एकताबद्ध भएर प्रस्तुत हुनेछ । हो केही लाग्या छ यो कुनै लुकाउनुपर्ने कुरा छैन् । तर हामी बडो हार्दिकतापूर्वक एकताबद्ध भएर सभामुख र उपसभामुखका प्रश्नमा निर्णय गर्छौं र त्यो लिएर देशबासीका सामुमा आउछौं । त्यसकारण यो नेकपाले बोक्न नसक्ने, थेग्न नसक्ने, समाधान गर्न नसक्ने प्रकारको समस्या आइलाग्यो कि भनेर चिन्ता नगर्दा हुन्छ । कसैले त्यस प्रकारको आशा गरेको छ भने भन्न चाहन्छु–व्यर्थको आशा नगरे हुन्छ ।
२७ पुस २०७६, आइतवार १४:०८ बजे प्रकाशित













