अस्थायी शिक्षक परीक्षाको विरोधमा विद्यार्थीहरुको प्रदर्शन
काठमाडौं, फागुन २७ । शिक्षा ऐन नवौं संशोधनको विरोध गर्दै विद्यार्थीहरु सोमबार राजधानीको माइतिघर मण्डलामा शिक्षण लाइसेन्स प्रदर्शन गर्ने भएका छन् ।
राजधानीका विभिन्न क्याम्पसमा शिक्षा संकायमा अध्ययनरत ३ हजारभन्दा बढी विद्यार्थीहरु आन्दोलनमा सहभागी हुने विद्यार्थी संघर्ष समितिका महासचिब सञ्जय कार्कीले बताए ।
सरकारले नवौं संशोधनमार्फत खुला प्रतिस्प्रधामार्फत शिक्षक बन्नका लागि स्थायी अध्यापन अनुमति पत्र लाइसेन्स लिएर बसेका विद्यार्थीहरुको बाटो बन्द हुने गरी गरिएको नवौं संशोधन खारेजको माग गर्दै उनीहरुले १० औं संशोधनमार्फत सबैलाई खुला प्रतिष्पर्धामार्फत स्थायी हुने अवसर सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
शिक्षा ऐनको आठौं संशोधनले ४९ प्रतिशत खुला र ५१ प्रतिशत आन्तरिक शिक्षक स्थायी गर्ने भनेको भए पनि नवौं संशोधनले २५ प्रतिशत मात्रै खुलाको व्यवस्था गरेकाले आफूहरु विरोधमा उत्रनु परेको उनीहरुको भनाइ छ ।
विद्यार्थीहरुले विरोध स्वरुप शिक्षक लाइसेन्स बिक्री कक्षमा राख्ने र त्यसको फोटोकपी सरकारलाई नै फिर्ता गर्ने महासचिब कार्कीले बताए । कार्कीले भने, “सरकारले दिएको लाइसेन्स उपयोग गर्न पाइँदैन भने यसको अर्थ छैन त्यसैले सरकारलाई नै फिर्ता गर्नेछौ ।”
उनीहरुले तत्कालका लागि चैत २३ गने हुने भनिएको अस्थायी शिक्षक परीक्षा रद्द गर्दै लाइसेन्स लिएर बसेका विद्यार्थीहरुको रोजगारीको हक प्रदान गर्नका लागि आह्वान समेत गरेका छन् ।
उनीहरुसँग अस्थायी, करार शिक्षकहरुले पनि २३ गतेको अस्थायी शिक्षक परीक्षा स्थगित गर्दै ऐन संशोधनमार्फत सबैलाई ७५ प्रतिशत आरक्षणको व्यवस्था माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
२७ फागुन २०७४, आइतवार १५:०४ बजे प्रकाशित













