थाहा नगर रोटरी क्लब स्थापना गर्ने निर्णय
काठमाडौं, फागुन २६ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रोटरी क्लब स्थापना गर्ने तयारी गरिएको छ । थाहानगरका समाजसेवी अच्युत्तमप्रसाद ढकालको अगुवाईमा रोटरी क्लब अफ थाहा स्थापना गर्ने तयारी गरिएको हो ।
शनिबार काठमाण्डौंस्थित कलंकीमा एक कार्यक्रमको आयोजना गरी थाहा नगरको समृद्धिको लागि रोटरी क्लब स्थापना गर्ने प्रक्रिया शुरु गर्ने निर्णय गरिएको हो ।
थाहानगरमा घर भई विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरु भेलामा सहभागी थिए ।
भेलाले थाहा नगरमा रोटरी स्थापना गर्ने निर्णय गर्दै प्रक्रिया अघि बढाउन ढकाललाई संयोजक तोकेको छ ।
‘अब प्रक्रिया अघि बढेको छ, संस्थापक सदस्यताको फाराम भर्ने काम गर्छौं र अघि बढ्छौं’ संयोजक ढकालले भने ।
कार्यक्रममा सहभागीहरुले थाहानगरको विकासमा विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरुको सामुहिक र संगठित प्रयास जरुरी रहेको र त्यसका लागि सामाजिक क्षेत्रबाट रोटरी क्लबमार्फत् जान सकिने धारणा राखेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ पशुपतिका पूर्व सभापति हरिभक्त बुढाथोकी, वर्तमान सभापति राजेश न्यौपाने र रोटरीका अनुभवी बद्रि खनालले अनौपचारिक रुपमा रोटरीसम्बन्धमा अभिमुखीकरण गरेका थिए ।
भेलामा मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, पूर्व प्राध्यापक कुमार थापा, प्राध्यापक बद्रिप्रसाद बिडारी, प्राध्यापक पुस्कल ढकाल र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विनोद ढकालको सहभागिता रहेको थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ काठमाण्डौंका अध्यक्ष शन्तराम बिडारी, थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी, थाहा–काठमाण्डौं पत्रकार समाजका अध्यक्ष वैकुण्ठ ढकाल, ओमबहादुर विष्ट, केदारबहादुर बस्नेत, यदुकुमार बस्नेत, पुरुषोत्तम कार्की, कल्पना बलामी, रामहरि ढकाल, राजाराम केसी, भरतप्रसाद ढकाल, उत्तमराज कार्की, राजिव लामिछाने, ईश्वरनाथ पौडेल, मिलन कार्की, अर्जुन कार्की, राजेन्द्र कार्कीलगायतको सहभागिता थियो ।
२६ फागुन २०७४, शनिवार १२:५० बजे प्रकाशित












