ठूला दलहरु आन्तरिक किचलोमा

काठमाडौं, कात्तिक १९ – तराईका विभिन्न जिल्लामा भैरहेको आन्दोलन र भारतको नाकाबन्दीले देशभरको जनजीवन अस्तव्यस्त भइरहँदा पनि ठूला राजनीतिक दलहरु हुनुपर्ने जति गम्भीर बन्न सकेका छैनन् । नागरिकले भोग्नुपरेको समस्या समाधानतर्फ भन्दा पनि उनीहरु आफ्नै पार्टीभित्रको आन्तरिक किचलोमा फसेका छन् । लाभका पद हडप्न र आन्तरिक व्यवस्थापनमै ठूला दल रुमलिँदा नागरिकले अझै कति दिन कष्ट भोग्नु पर्ने हो ठेगान छैन । संविधान जारी हुनुअघि नै सुरु भएको मधेस आन्दोलनलाई व्यवस्थापन गर्न दलहरुले आवश्यक दतारुपता नदेखाउँदा नागरिकले सास्तीमाथि सास्ती खेपिरहनुपरेको छ । आन्दोलनकै बहाना पार्दै भारतले ४३ दिनअघि नाकाबन्दी थालेपछि अवस्था झन् कहालीलाग्दो भएको छ । अहोरात्र खटेर संविधान जारी गरेका राजनीतिक दलहरु त्यसपछि देशमा देखिका समस्याप्रति भने मुकदर्शक जस्तै भएका छन् । सरकारको नेतृत्व गर्ने अवसर पाए पनि दोस्रो ठूलो दल नेकपा एमाले एक महिनादेखि पार्टीका कुन नेतालाई मन्त्री बनाउने र कसलाई अरु राजनीतिक पदमा नियुक्ति गर्ने भन्ने हानथापमै अल्झिरहेको छ । एकीकृत माओवादी पनि सरकारमा गएपछि लाभको पद ताक्नमै व्यस्त छ । अझ पछिल्लो सयम पार्टी छाड्नेको लर्को लाग्दा एमाओवादी नेतृत्वले देशका जल्दाबल्दा समस्याभन्दा पनि पार्टी छाडेर हिँडेकालाई फर्काउन र कारवाही गर्न ध्यान केन्द्रित गरिरहेको छ ।सत्ता साझेदार दुवै दल आन्तरिक व्यवस्थापनमा अल्झिदा सरकारको काम कारबाही नागरिकले अनुभूति गर्न पाएका छैनन् । सत्तारुढ दलका नेता नै सरकारले समस्या समाधानका लागि काम गर्न नसकेको स्वीकार गर्छन् । एमाले नेता भानुभक्त ढकाल भन्नुहुन्छ ‘अहिलेको परिस्थिति जटिल छ ।समस्या समाधान गर्नका लागि गहिरिएर जानन नसकेको हो । तर मन्त्रीपरिषद विस्तार भएपछि सबै ध्यान समस्या समाधानमा जान्छ ।’ उहाँले अहिलेको समस्या समाधानका लागि अनाउन सकिने जति लचकता सरकारले अपनाउने बताउनु हुन्छ । तर राष्ट्रियताको सवालमा भने कुनै सम्झौता नहुने उहाँको भनाई छ । संविधान घोषणासँगै प्रतिपक्षमा पुगेको कांग्रेस नेताहरु एकअर्कालाई दोषारोपण गरेर दिन कटाइरहेका छन् । पहिलो पार्टी भएपनि राज्यका मुख्य पाँच पद गुमेपछि कांग्रेस त्यसको समिक्षामा लागेको छ । अझ आउँदो फागुन हुने १३ औं महाधिवेशनको सरगर्मी सुरु भइसकेको अवस्थामा कांग्रेसका लागि अरु विषय गौण बन्दै गएका छन् । कांग्रेसले आमनागरिकले भोग्नुपरेको समस्या समाधानको लागि सरकारलाई सहयोगभन्दा पनि पहिले आफ्नै नेतृत्वको सरकारले समाधान गर्न नसकेको समस्या अहिले समाधान भएन भनेर आलोचना गर्न थालेको छ । कांग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडु सरकारले समस्या समाधानका लागि काम गर्नै नसकेको आरोप लगाउनुहुन्छ । उहाँले भन्नुभयो ‘इन्धनदेखि अरु सामानको कृतिम अभाव भएको छ । महंगी बढेको छ । महंगोमा पनि नागरिकले सामान पाएका छैनन् । सरकारले यस तर्फ ध्यानै दिन सकेको छैन ।’ अहिलेको सरकारले छिमेकी देशसँगको सम्बन्ध राम्रो बनाउनका लागि कुटनीतिक कौशलता पनि देखाउन नसकेको उहाँले आरोप लगाउनुभयो ।

१९ कात्तिक २०७२, बिहीवार ०२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु