मधेस आन्दोलनको समाधान वार्ताबाटै : महिला फोरम
काठमाडौँ, १९ कात्तिक । सङ्घीय समाजवादी महिला फोरमले करिब तीन महिनादेखि मधेसमा जारी आन्दोलनको अविलम्ब समाधान वार्ताबाट खोज्न सरकारसँग आग्रह गरेको छ ।
दांगमा आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष निर्मला यादवले मधेस आन्दोलनका कारण मुलुकमा आपूर्ति व्यवस्था असहज भई जनजीवन प्रभावित भएकाले छिटो समाधान खोज्नुपर्ने बताइन् ।
उनले आन्दोलनका क्रममा यही कात्तिक १६ गते घटेको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग मागसमेत गरे ।
मोर्चाका सांसद छाया शर्माले विगतमा सरकारले मधेसी मोर्चालगायत आदिवासी, जनजाति, खस, थारुसँग गरेको सम्झौतालाई कार्यान्वयन गरेर सबै जाति तथा समुदायलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
फोरमका नेत्री सुशीला श्रेष्ठले युद्धको समयमा पनि महिला तथा बालबालिकालाई गर्नुपर्ने व्यवहार एवम् बेइजिङ सम्मेलनमा पारित गरिएका अन्तर्राष्ट्रिय अधिकार मधेस आन्दोलनमा उल्लङ्घन भएको बताए ।
फोरमले मधेस आन्दोलनलाई समाधान गर्न सरकारलाई आवश्यक सहयोग गर्नेसमेत जनाएको छ ।
१९ कात्तिक २०७२, बिहीवार ०२:२६ बजे प्रकाशित