कञ्चनपुरमा कालो सिसौको काठ बरामद्
कञ्चनपुर, १२ फागुन । कञ्चनपुरको भिमदत्तनगरपालिका वडा नम्बर १८ बाट जंगली दुर्लभ कालो सिसौको काठ बरामद भएको छ । राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डा चौकीले गहुँबारीमा लुकाई छिपाई राखेको अवस्थामा कालो जातको दुर्लभ जंगली सिसौको काठ बरामद गरेको हो । नेपाल–भारत सीमा नजिक बरामद् भएको काठ एक सय ९ दशमलव ८१ क्युफिट रहेको गुल्मपति सशस्त्र प्रहरी नायब निरीक्षक नेत्र केसीले बताए । उनले बरामद काठ जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाइएको जानकारी दिए । जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत जिबछ यादवले उक्त सिसौ बहुमुल्य रहेको उल्लेख गर्दै बजारमा यसको मूल्य प्रति क्यूफिट झण्डै पाँच हजार पर्ने गरेको बताए । कसले, कुन प्रयोजनका लागि उक्त काठ लुकाएको भन्नेबारे अझै खुल्न सकेको छैन । काठ बरामद भएपछि दोषीसम्म पुग्नका लागि आवश्यक छानविन भइरहेको यादवले जानकारी दिए ।
कैलाली बाट पत्रकार लोकेश धामीको सहयोगमा
१२ फागुन २०७३, बिहीवार ०४:०४ बजे प्रकाशित