कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लामा औषधीको अभाव
जुम्ला, १२ फागुन । कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लामा औषधीको अभाव भएको छ । औषधी अभावका कारण उपचारका लागि आउने विरामीलाई समस्या परेको छ । कर्णालीका विभिन्न जिल्लाबाट आएका विरामीहरु औषधालयमा औषधी नभए पछि रित्तै हात घर फर्कन बाध्य छन् । ढाड कम्मर दुख्ने, महिनावारी अनियमित हुने, थोरै हिंड्दा धेरै थाकान महशुस हुने जस्ता समस्या भएका विरामीहरु दैनिक जसो औषधालयमा आउने भएपनि औषधी सकिएका कारण रित्तै हात फर्काउनु पर्ने अवस्था रहेको औषधालयका वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेले बताए । उनका अनुसार पुस्यानुक चुर्ण, लिउक्रोनजी, लोउन लगायतका औषधी अभाव भएको छ । यसअघि सञ्चालन हुँदै आएको शरिरलाई चिल्लो बनाएर पसिना निकाल्ने अर्थात् शित निकाल्ने मेसिन पनि अहिले बन्द छ । आयुर्वेद औषधालयको आर्थिक स्रोत नभएका कारण र विद्युत अभाव भएको हुनाले उक्त मेसिन बन्द भएको हो । यसअघि ग्याँस सिलिण्डरको प्रयोग गरेर चलाईएको भएपनि अहिले सिलिण्डर सकिएको र रकम नभएको हुनाले बन्द रहेको औषधालयले जनाएको छ । यसको लागी जिल्ला, विभाग र मन्त्रालयसम्म जानकारी गराएको भएपनि कतैबाट सहयोग हुन नसकेको वरिष्ठ वैद्य न्यौपानेले बताए ।
१२ फागुन २०७३, बिहीवार ०४:०३ बजे प्रकाशित