संसद् बैठक बिहीबार पनि बस्दै, चल्नेनचल्ने अनिश्चित
काठमाडौँ, १२ फागुन । व्यवस्थापिका–संसद्को बैठक बिहीबारका लागि पनि बोलाइएको छ । दिउँसो तीन बजे नयाँवानेश्वरस्थित संसद् भवनमा बैठक सुरु हुनेछ । यद्यपी आजका लागि बोलाइएको बैठक चल्ने वा नचल्ने भन्ने निश्चित छैन । संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्सन कुइकेलले संसद् बैठकअघि अरु कुनै प्रकारको औपचारिक छलफल नरहेको सीआईएनलाई जानकारी दिए । मंगलबार र बुधबारका लागि बोलाइएका संसद् बैठक सूचना टाँसेर स्थगित गरिएका कारण बिहीबार बैठक चल्नेनचल्ने टुङ्गो नलागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी दलले संविधान संसोधन प्रस्तावमा हुने मतदानको परिणाम मधेसी मोर्चाले स्वीकार गरे मात्र संसद् बैठक चल्न दिने बताएपछि हिजोको बैठक स्थगित गरिएको थियो ।
यसबीचमा सभामुख, प्रधानमन्त्री र मधेसी मोर्चाबीच औपचारिक छलफल नभएका कारण बिहीबारको बैठक अनिश्चित बनेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संसद् बैठक सुचारु गर्ने बारेमा औपचारिक छलफल नभए पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिए । संविधान संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा आउने परिणामलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्वीकार गर्ने प्रतिबद्धता नआएसम्म प्रस्ताव अघि बढाउन नहुने प्रतिपक्षको अडानका कारण संसद्को बैठक प्रभावित हुँदै आएको छ ।
१२ फागुन २०७३, बिहीवार ०४:०० बजे प्रकाशित













