कांग्रेस वर्तमान सरकार विरुद्ध, एमाओवादीको सर्मथन, एमाले रक्षात्मक
काठमाण्डौँ । वर्तमान सरकारका बिरुद्ध प्रमुख प्रतिपक्षी कांग्रेस अघि बढेको छ । सत्तारुढ दल एकिकृत माओवादीले सर्मथन गर्ने तयारी गरेको छ । सरकारको नेतृत्व गरिरहेको एमाले प्रतिवाद गर्ने सोचमा छन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना संसदहरुलाई वर्तमान सरकारका कमजोरीहरु बिरुद्ध संसदमा शसक्त आवाज उठाउन निर्देशन दिएको छ ।
दुई दिनसम्म बसेको संसदीय दलको बैठकले सरकारले पुनर्निर्माण प्रक्रिया र मधेस समस्या समाधान गर्न नसकेको भन्दै त्यसका बिरुद्ध संसदमा आवज उठाउने निर्णय गरेको छ ।
बैठकपछि पार्टी सभापति शेरबहादुर देउवाले विनाशकारी भूकम्पको गएको एक बर्ष बितिसक्दा समेत प्रभावितहरुको समस्या ज्युँ का त्युँ रहेको तथा पूनर्निर्माणका लागि बिनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको बताए । नेता महेश आचार्यले आफुहरुले सरकार परिवर्तनलाई नै मुख्य एजेण्डा नबनाएको भएपनि सरकारको कामकारबाहीप्रति सन्तुष्ट हुन सकिने अवस्था नरहेको जनाए ।
बैठकमा संसदीय दलका नेता समेत रहेका देउवाले सत्तारुढ दलहरु नै सरकारको कामबाट सन्तुष्ट नरहेको अवस्थामा प्रमुख प्रतिपक्षीले संसद्लाई सरकार माथि प्रहार गर्ने अस्त्रका रुपमा उपयोग गर्नुपर्ने बताए । सांसद्हरुले भने संविधानमा नै जेठ १५ गते बजेट प्रस्तुत गर्ने उल्लेख गरिएकाले सम्भव भएसम्म त्यसअघि नै वर्तमान सरकार ढाल्नुपर्ने धारणा राखेका बताइएको छ । कांग्रेसले सत्तारुढ एकीकृत माओवादी लगायतका दलहरुसंग वर्तमान सरकारको विकल्पका सम्वन्धमा छलफल अघि बढाउने निर्णय गरेको छ ।
सत्तारुढ दल नेकपा एमालेले प्रतिपक्षी नेपाली काँग्रेसले व्यवस्थापिका–संसदमा उठाउने विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताए । बैठकपछि प्रमुख सचेतक भानुभक्त ढकालले बैठकमा प्रधानन्त्री समेत रहेका ओलीले संसदमा प्रभाबकारी उपस्थिति जनाउने र बजेट अधिवेशनका विषयमा छलफल भएको जानकारी दिए ।
एकिकृत माओवादी सचिव वर्षमान पुनले एमालेले सरकार गठन गर्ने बेला भएको ८ बुँदे सहमती लत्याएको आरोप लगाए । राजधानीको रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनले अब ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने उल्लेख गरे ।
२१ वैशाख २०७३, मंगलवार १५:१५ बजे प्रकाशित