प्रचण्ड नेपालहरु बाहिरिएपछि सबैभन्दा अनुशासित पार्टी बनेको छ : प्रधानमन्त्री ओली

ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचण्ड नेपालहरु बाहिरिएपछि सबैभन्दा अनुशासित पार्टी बनेको बताए ।

उनले पुष्पकमल दाहाल जनयुद्धका बेला भारतमा लुकेर बसेको आरोप लगाएका छन्।

उनले प्रचण्डको अब जाने ठाउँ कतै नभएको बताउँदै भने, प्रचण्ड भनेको फ्लटिङ जस्तो कहिले रोल्पा जानु भयो, सिराहा जानुभयो त्यसपछि अब जाने ठाउँ कतै छैन।

प्रचण्ड हिजो जंगलमा नबसेको भन्दै फेरि जान पनि नसक्ने बताए । उहाँ हिजो जंगलमा बस्नु भएको होइन दिल्ली नोयडा बस्नुभयो । जंगलमा अरुलाई बसाउनु भयो । आफूहरु जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नु भयो, ओलीले भने ।

उनले प्रचण्डका लागि समाजवाद आइसकेको बताए । उहाँहरुका लागि समाजवाद त आइसक्यो । उहाँको परिवारका लागि मात्र होइन घरबेटीका लागि पनि समाजवाद आइसक्यो, उनले अगाडि भने, हिजो जनयुद्ध लडेकाहरुलाई त समाजवाद आएको छैन ।

उनले अहिलेसम्म एकपटक सूर्य चिन्हमा भोट नहाल्नेले अहिले सूर्य चिन्ह मागेर हिँडेको बताए ।

एक पल्ट सूर्य चिन्हमा छाप नलाएका मान्छेहरु मेरो हो चुनाव चिन्ह रे कहिलेबाट तपाईँको सूर्य चिन्ह पार्टी छाडेपछि मेरो सूर्य चिन्ह, ओलीले अगाडि भने, मैले त भनेको थिएँ नि अब सूर्य चिन्हमा लड्न पाउनुहुन्थ्यो नि।

यहीँ बसेको भए कति सानदार सफलता हुन्थ्यो। सही काम गरेको भए पार्टी एक ढिक्का हुन्थ्यो । पार्टीले सानदार जित्थ्यो । अब उहाँहरुले जित्नुहन्छ चुनाव ।

उनले प्रचण्डलाई चितवनबाट आफूहरुले जिताएको समेत दाबी गरे ।

२०७४ मा चितवनमा हामीले जिताएको हो । ठूलाठूला सभा गरेर हामीले लौन भोट हाल्दिनुस् भनेर हामीले जिताएको हो । २०७० मा बत्ती निभाएर बाकस साटेर जिताएको हो हामीले । त्यसभन्दा अगाडि कीर्तिपुरमा त हारिसक्या हुन्, उनले भने।

सबैभन्दा अनुशासित पार्टी आज हाम्रो पार्टी हो। हिजो सबै भन्दा अराजक पार्टी हाम्रो थियो। किन रहेछ भनेको त्यही पिलो रहेछ। किन टनटन गर्‍या छ भन्या त्यही पिलो रहेछ, उनले भने।

उनले अघिल्लो पटक आफ्नो सरकार ढाल्ने प्रचण्ड माधव नेपाल झलनाथ खनाल वामदेव गौतमहरु भएको आरोपसमेत लगाए।

१५ माघ २०७७, बिहीवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु