ललितपुर मालपोतका दुई कर्मचारी घुससहित पक्राउ
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउनको लागि उनीहरूले घुस लिएका थिए ।
लखनखेल बसपार्कबाट उनीहरूलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
श्रेष्ठद्वयलाई घूस रकम लिइसकेको अवस्थामा लगनखेल स्थित बसपार्क नजिकबाट मंगलबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
७ माघ २०७७, बुधवार १३:०१ बजे प्रकाशित





