आयोगले थाल्यो नेकपाको वैधानिकताको अध्ययन

निर्वाचन आयोगले नेकपाको वैधानिकताका सम्बन्धमा पेस भएका कागजातहरु अध्ययन गर्न शुरु गरेको छ ।

आ–आफ्नो समूहलाई नेकपाको वैधानिक पार्टी दाबी गर्दै नेकपाको केपी शर्मा ओली पक्षले कागजात पेस गरेको भोलिपल्ट बुधबार सोही पार्टीको अर्को प्रचण्ड–माधव पक्षले आवश्यक कागजात र प्रमाणहरु आयोगसमक्ष पेस गरेको थियो ।

दुवै समूहले पार्टीको नाम नेकपा र चुनाव चिह्न सूर्य माग गर्दै विस्तारित केन्द्रीय सदस्यहरुको सूचीसहित आयोगसमक्ष पत्र बुझाएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७२ को ४४ मा दलको नाम, छाप, झण्डा वा चिह्हसम्बन्धी विवाद भए त्यसमा दाबी गर्ने दलले र पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो निर्णयको आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४ प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३ दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

दुवै पक्षबाट नेकपाको आधिकारिक दाबी गर्दै निवेदन परेपछि सो सम्बन्धमा आयोगले अध्ययन गर्न शुरु गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षबाट आएको निवेदनको जाँचबुझ गर्ने, दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार छ कि छैन भनेर हेर्न शुरु गरेको छ ।

सो ऐनको दफा ४२, ४३, ४४ र ४५ मा राजनीतिक दलसम्बन्धी विवाद निरुपणको व्यवस्था छ । दफा ४३ मा दलको नाम, दलको छाप, विधान, झण्डा र चिह्न तथा दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिताको विवाद भएमा आयोगले निरुपण गर्ने उल्लेख छ ।

त्यसै गरी ऐनको दफा ४४ को उपदफा ६ मा विवाद हुनुअगाडिको केन्द्रीय समितिको संख्यालाई आधार मानेर गणना गर्दा जसको बहुमत छ उसैले निर्वाचन चिह्न र आधिकारिक नाम पाउने व्यवस्था रहेको छ । शुरुमा आयोगले सहमतिका लागि दुई पक्षबीच छलफल गराउने प्रावधान दफा ४४ मा रहेको छ ।

सोही प्रावधानलाई आधार मानेर आयोगले निर्णय गर्ने गरेको पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले बताउनुभयो ।

‘अहिलेसम्मको अभ्यासमा जोसँग बहुमत छ, उसलाई संस्थापन मान्ने र अर्कोलाई नया“ पार्टी खोल्ने बाटो खुला गर्ने गरेको छ । मुख्य निर्णायक भनेको कार्यसमिति नै हो, सदस्यहरूको संख्या नै हो।’ –प्रमुख निर्वाचन आयुक्त गुरुङले भन्नुभयो ।

नेकपा गठन हुँदा तत्कालीन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय समिति बनेको थियो । तीमध्ये ३ जनाको निधन भइसकेको छ । बाँकी ४ सय ४२ केन्द्रीय सदस्यमध्ये पाँच जनाले संवैधानिक नियुक्ति पाएका छन् ।

मंगलबार बालुवाटारमा बसेको बैठकमा ओली पक्षले ५ सय ५६ नयाँ सदस्य थप गरेको थियो । ओलीले साविकको ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १ सय ९९ सदस्यीय घोषणा गर्नुभएको थियो, जसमा १ सय ९७ जनापछि थप गर्ने बताइएको छ ।

९ पुस २०७७, बिहीवार ०६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु