सरकारमा बस्ने वा बाहिरिने भोलीसम्म टुङ्गो लाग्छ : दाहाल
विराटनगर, पुस १८ – एकिकृत माओवादीले आईतवारसम्ममा आफ्ना मन्त्रिहरुलाई सरकारमा राख्ने वा तत्काल फिर्ता बोलाउने भन्ने टुङ्गो लगाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीप्रति असन्तुष्टी चुँलिँदै गएपछि माओवादीले यसबारे छलफल गर्न लागेको हो ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहालले जनताको आवश्यकता र चाहना अनुसारको काम नगरी सरकारमा बसिरहनु उचित नहुने बताएका छन । सरकारको काम कार्वाहीको बारेमा आन्तरिक छलफल गरेपछि मन्त्री फिर्ता गर्ने वा सरकारमा बस्ने नबस्ने भन्ने बिषयले प्रवेश पाउने दाहालले तर्क गरे । प्रदेश नम्बर १ ले गरेको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्ण महादुर महरा सहित विराटनगर पुगेका अध्यक्ष दाहालले आजै वा भोली सम्ममा सरकारमा रहने ÷नरहनेबारे टुङ्गोमा पुगीने बताएका हुन । रामचन्द्र पौडेल, महन्थ ठाकुर र आफू बसेर पटक–पटक छलफल भइरहेकोले भोली सदन चल्ने बेलासम्म मोर्चासंग एक किसिमको सहमति हुने पनि दाहालको भनाई छ ।
नागरिकता, सिमाङकन हेरफेरको लागि समिति बनाउने लगायतका अन्य मागका बारेमा पनि कुरा भइसकेको अबस्थामा उधारो सहमती नहुने भएकोले मधेसवादी दलहरु गम्भीर रहेको उनले जनाए ।
१८ पुस २०७२, शनिवार ०७:०२ बजे प्रकाशित