नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो, पर्सामा थप ४५ जनामा पुष्टी
१८ साउन, वीरगञ्ज । पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।
महानगर प्रमुख सरावगीको परिवारमा पनि संक्रमण
कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तैगरी अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
विर्तामा मात्रै १९ जनामा संक्रमित
वीरगञ्ज–४ विर्तास्थित कन्या माविबाट संकलन गरिएका स्वाब परीक्षण गर्दा १९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । मास टेष्टिङअन्तर्गत साउन १२ गते कन्या स्कुलमा १ सय ४९ जनाको स्वाब नमुना संकलन गरिएको थियो । संक्रमितहरु पाँच वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म छन् ।
यसअघि वीरगञ्ज–६ माईस्थान मीनाबजार क्षेत्रमा गरिएको मास टेष्टिङमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तरकारी, फलफूल र माछामासु पाउने क्षेत्र भएकाले मीनाबजार क्षेत्रमा भिडभाड हुने गर्छ ।
मास टेष्टिङमा बढी जनसम्पर्कमा रहने मानिसमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
‘
१८ साउन २०७७, आइतवार ०९:०१ बजे प्रकाशित





