नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्छ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

‘मुलुकको शासन प्रणालीलाई नाममा रिफ्लेक्ट गर्नहुन्छ कि हुँदैन ? हुँदै हुँदैन भन्ने पनि होइन । गर्न पनि सकिन्छ । त्यसो गर्ने हो भने हामी संविधानमै जानुपर्ने हुन्छ’, सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री ज्ञवालीले भने,

संविधान संशोधन गरेर नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र राखौं भन्दा छलफल गर्न नसकिने होइन । तर, अहिले त हामीले संविधानमा जे व्यवस्था छ, नेपालको नाम नेपाल भएको हुनाले आधिकारिक पत्राचार नेपाल भनेर गर्ने भनेका हौं ।’
मन्त्री ज्ञवालीले नेपालको नाममा विशेषण जोड्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

तर, देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको उनको प्रष्टीकरण छ । ‘नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

उनका अनुसार नयाँ संविधान जारी गरेपछि औपचारिक रुपमा नेपालको नाम नै परिर्वतन गर्ने निर्णय भएको छ कि भनेर खोजी पनि गरिएको थियो । तर देशको नाम परिर्वतनबारे कुनै निर्णय नभएको र संविधानमा पनि देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नभनिएको उनले प्रष्ट पारे ।

कतिपयले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, कतिपयले नेपाल मात्र लेख्ने गरेकाले एकरुपता ल्याउन सरकारले नेपाल मात्र लेख्ने निर्णय गर्नु परेको उनले प्रष्ट पारे ।

नेपालको औपचारिक नाम नेपाल नै भएका कारण नेपालको संविधान लेखिएको, नेपालको झण्डा लेखिएको उनको भनाई छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान लेखेनौं । नेपालको झन्डा लेख्यौं, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको झन्डा लेखेनौं, नेपाल सरकार लेख्यौं, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकार लेखेनौं’ उनले भने ।

प्रशासनिक हिसाबले गर्न खोजिएको विषयलाई राजनीतिक प्रणालीसँग नजोड्न पनि मन्त्री ज्ञवालीले आग्रह गरेका छन् । ‘सरकारै मनपर्दैन, व्यक्ति मनपर्दैन, प्रधनमन्त्री मनपर्दैन, मन्त्री मनपर्दैनन् भने त त्यसलाई जता जोडेपनि भयो । होइन भने यो विशुद्ध एउटा प्रशासनिक हिसाबले गर्न खोजिएको विषयलाई राजनीतिक प्रणालीसँग, अहिलेको हाम्रो छलफलसँग जोडनुपर्ने केहीपनि कारण छैन । त्यसरी नजाऔं’ उनले भने ।

२४ कात्तिक २०७७, सोमवार २०:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु