भारतीय राजदुतद्धारा नेताहरुलाई भोज !

ranjitकाठमाडौँ, २६ मङ्सिर । भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको भन्दै सर्वत्र चर्को आलोचना भइरहेको बेला प्रमुख दलका केही नेताहरुका लागि शुक्रबार नेपालका लागि भारतीय राजदूत रणजित रायले दिवाभोजको आयोजना गरेका थिए ।

भारतीय दूतावास लैनचौरमा आयोजित उक्त दिवाभोजमा सत्तारुढ, प्रमुख प्रतिपक्षी दलका नेता एवम् सांसदहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल र भारतबीच पछिल्लो दिनमा देखिएको असहज अवस्थाका विषयमा सामान्य कुराकानी भएको भोजमा सहभागी नेताले जानकारी दिएका छन् ।

उनीहरुले नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो भएकाले त्यसलाई आपसी विश्वासका आधारमा सौहार्द बनाउनुपर्नेमा जोड दिएको बताए ।

भोजमा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, एकीकृत नेकपा ९माओवादी०का प्रभु साह, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, अमरेशकुमार सिंह, सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलगायतको उपस्थिति रहेको थियो ।

भोजमा सहभागी नेपाली काँग्रेसका नेताद्वय विमलेन्द्र निधि र आनन्दप्रसाद ढुङ्गानाले सामान्य दिवाभोजको आयोजना गरिएको आफूहरुलाई आमन्त्रण गरिएकाले सहभागी भएको जानकारी दिए ।

संसद् भवन नयाँ बानेश्वरमा संवाददातासँग बोल्दै उनीहरुले नेपाल भारत सम्बन्ध र पछिल्लो दिनमा देखा परेको समस्याका विषयमा सामान्य छलफल भएको बताए । दिवाभोजमा सहभागी भएका अन्य नेताले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

सो अवसरमा राजदूत रायले भने नेपाल र भारतको विषयमा सामान्य धारणा राख्नुभएको बुझिएको छ ।

२५ मंसिर २०७२, शुक्रवार १८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु