सरकार र मधेसी मोर्चाबीच आज निर्णायक वार्ता हुँदै, सिमांकन हेरफेर हुनसक्ने

काठमाडौँ, मङ्सिर १ । संविधान जारी गरेपछि पहिलोपटक मधेसी दलहरुलाई सहमतिमा ल्याउने पहल थालेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्दोलनरत मधेसी मोर्चासंग निर्णायक वार्ताको अन्तिम तयारीमा लागेका छन् ।
यसअगाडी ओली सरकारले कमल थापा नेतृत्वको टोलीले चार पटकसम्म वार्ता गरेपनि कुनै सहमति गर्न नसकेपछि शीर्ष नेता सम्मिलित उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वार्ताको जिम्मा दिएको थियो ।
सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा ठोस प्रस्ताव आए आफूहरु सहमतिको लागि तयार भएको सन्देश मधेसवादी दलका तर्फबाट आएपछि संयोजक दाहालले हिजो अनौपचारिक परामर्श गरेका थिए ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव एवम् एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले मधेसवादी दलले उठाउँदै आएका विषयहरुमा समाधान खोज्ने र मुलुकले भोग्नुपरेको इन्धन सङ्कटलगायत विषयलाई समाधान गर्ने गरी छलफल केन्द्रित रहेकोले बुधबारको वार्तालाई निर्णायक बनाउने तयारी गरिएको बताए ।
अध्यक्ष दाहालले मंगलबार पनि अनौपचारिक रुपमा सत्तारूढ दल तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुसँग तराई मधेसको समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने आग्रह गर्दै छलफल गरेका थिए ।
‘‘अनौपचारिक रुपमा भएका छलफल सकारात्मक छन्, समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै पक्ष सहमत देखिएको छ’’, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्वकीय सचिव खड्काले भने ।
सरकारमा सहभागी दलका तर्फबाट वार्ताको वातावरण बनाउने र सहमतिको आधार बनाउने जिम्मा अध्यक्ष दाहाललाई दिएपछि उनले सक्रियता बढाएका हुन् ।
१ मंसिर २०७२, मंगलवार १६:३४ बजे प्रकाशित