भारतबाट २२ र चीनबाट १९ ट्यांकर इन्धन तथा ग्यास नेपाल भित्रियो
काठमाडौँ, मंसिर १ । रुपन्देहीको वेलहिया नाकाबाट १५ वटा ग्यास बुलेटसहित २०० भन्दाबढी मालवाहक गाडी मंगलबार नेपाल भित्रिएका छन् ।
वीरगन्ज घटनापछि ठप्प जस्तै भएका नाकाबाट पछिल्लो तीन दिनयता मालवाहक सवारीसँगै इन्धन भित्रिने क्रम बढ्दै गएको छ ।
मंगलबार भैरहवा नाकाबाट १५ ग्यास बुलेट र १५३ मालवाहक साधन, २५ बस र अन्य ६० वटा साधन नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
वीरगन्जको रक्सौल नाकामा रोकिएका केही ग्यास बुलेट पनि रुट परिवर्तन गरी बेलहियाबाट ल्याइएको थियो । यस्तै गत कात्तिक २९ गते सबैभन्दा बढी ३५ वटा डिजेलका ट्याङ्कर १८ वटा ग्यास बुलेट भैरहवा नाकाबाट नेपाल भित्रिएको थियो ।
यसैबीच रुपन्देहीको वेलहिया नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थको ४० प्रतिशत नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारी अन्तर्गतका ११ जिल्लामा वितरण गर्न पाउनुपर्ने माग गर्दै पेट्रोल पम्प सञ्चालकहरु धर्नामा बसेका छन् ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको नेतृत्वमा धर्नामा पम्प सञ्चालकहरु नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीको मूलगेटमा धर्नामा वसेका हुन् । व्यवसायी आइतबारदेखि धर्नामा वसेका छन् ।
धर्नामा बसेका व्यवसायीले वेलहिया नाका हँुदै आएको पेट्रोल तथा डिजेलको ४० प्रतिशत यस क्षेत्रका पेट्रोल पम्पमा वितरण नहुँदासम्म र राजमार्गभित्रका पम्पहरुमा पनि तेल नपु¥याउँदासम्म आफुहरु धर्नामा बसिरहने एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले जानकारी दिए ।
वेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ७५ प्रतिशत काठमाडाँै, पोखरा लगायतका सहरमा पठाउनुपर्ने भएकाले रुपन्देहीलगायत ११ जिल्लालाई २५ प्रतिशत मात्रै वितरण गर्नु परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जनाए । उनले निजी पम्प सञ्चालकलाई तेल वितरण गर्न आग्रह गरेको समेत बताए ।
गौरीफन्टाबाट सात गाडी इन्धन भित्रियो
यस्तै मंगलबार १० बजेसम्म कैलाली भन्सार सीमा नाकाबाट सात ट्याङ्कर इन्धन भित्रिएको छ ।
बीस हजार लिटर क्षमताका पाँच गाडी डिजेल र १२ हजार लिटर क्षमताका दुई गाडी पेट्रोल भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।
भारत उत्तरप्रदेशस्थित भारतीय आयल निगमको बन्थरा डिपोले दुई हप्तादेखि सुदूरपश्चिम पठाउने इन्धनको परिमाण घटाएपछि यस क्षेत्रमा पनि इन्धनको चरम अभाव सिर्जना भएको कार्यालयका प्रमुख शरद पौडेलले बताए ।
आएको इन्धन आयल निगम क्षेत्रीय कार्यालयले सुदूरपश्चिमका पेट्रोल पम्पमा पालैपालो इन्धन बिक्री वितरणका लागि उपलब्ध गराउन थालेको छ ।
इन्धनको बढी माग हुने हालको समयमा दैनिक २० गाडी आवश्यक पर्ने भए पनि दैनिक दुईदेखि पाँच गाडी मात्रै आउने गरेकाले समस्या सिर्जना भएको पौडेलले बताए ।
आवश्यकताभन्दा निकै कम परिमाणमा इन्धन आउन थालेपछि कुनकुन क्षेत्रलाई के कसरी इन्धन उपलब्ध गराउने भन्ने विषयमा तोकिएको प्राथमिकता र बनाइएको वितरण योजनासमेत कार्यान्वयन हुन सकेको छैन ।
पेट्रोल पम्पबाट व्यवस्थित ढङ्गबाट इन्धन बिक्री वितरण गर्न केही समयदेखि यी पम्पमा प्रहरीको निगरानी गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
यद्यपि पम्पमा बिक्रीका लागि आएको इन्धन रातारात गायब हुने गरेकाले आफूहरुले इन्धन नपाउने गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।
रसुवागढी नाकाबाट तिहारपछि १९ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।
सशस्त्र प्रहरी, सीमा सुरक्षा बलका अनुसार सोमबार पाँच र मङ्गलबार १४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो ।
१० वटा ट्याङ्कर तेल भर्नका लागि केरुङमा रहेको र काठमाडौँबाट टिमुरे पुगेका ११ वटा ट्याङ्कर भने भोलि केरुङ जाने बताइएको छ ।
१ मंसिर २०७२, मंगलवार १६:४४ बजे प्रकाशित