जाडोमा बालबालिकालाई चिसोबाट जोगाउने डाक्टरका १५ सुझाव

sfsकञ्चनपुर, कात्तिक २९  । जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस,  चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले  बालबालिकालाई एकदम छिटो असर गर्दछ ! तसर्थ निम्न कुराहरुमा ध्यान दिऔं :

१. सकभर सफा तथा न्यानो कपडा लगाइदिने ! कान, नाक, तालु,  घांटी र छातिमा अझ न्यानो कपडा लगाइदिने !

२. घाम लागेको समयमा घाममा राख्ने !

३. घाम नलागेको समयमा न्यानो बिस्तारा वा आगो / हिटर  आदि भएको ठाउँ नजिक राख्ने !

४. बाहिर कोइला रातो हुनेगरी बालेपछि बच्चालाई सेकाउने, तेल  घस्ने अनि सुत्ने बेलामा कोइला बाहिर राख्ने !

५. हावा छिर्नको लागि अलिकति झ्याल खुला राख्ने !  ६. नवजात शिशुलाई कंगारुले आफ्नो बच्चालाई छातीमा टासे  जस्तै टाँसेर सुताउने !

७. पटकपटक दुध, मनतातो पानी तथा झोलिलो खाने कुरा  खुवाइरहने !

८. रुघाखोकी लागेमा बेसार, ज्वानो, अदुवा, तुलसीको पात  तथा कागतीको रस राखेर पानीमा पकाएर खुवाइरहने !

९. छाती, घांटी. निधार, तालु तथा अन्य शरीरमा तेलमा थोरै  भिक्स मिसाएर मालिस गर्ने !

१०. चिसो हावा, चिसो खानेकुरा खान नदिने !

११. शरीरको तापक्रम सन्तुलन गर्न दुध, गेडागुडीको रस, दाल,  मासुको रस, तातो पानी तथा अन्य पौष्टिक आहार खुवाउने !

१२. ज्वरो, रुघा, खोकी लागेमा सामान्य सिटामोलको झोल  खुवाउने ! मौसमी रुघाखोकीमा एन्टिबायोटिकको जरुरी हुँदैन !

१३.ज्वरो आएकोबेला मनतातो पानीपट्टी लगाउने ! चिसो  पानीको पट्टी नलगाउने, यसले एक्कासी शरीरको तापक्रम  घटाएर झन् खतरा हुनसक्छ !

१४. तीन दिनसम्म ज्वरो नियन्त्रण नभए, लगातार खोकी लागे,  सास फेर्न गाह्रो भएमा तुरुन्त आफ्नो चिकित्सकसंग स्वास्थ्य  परिक्षण गराउने !

१५. कोखा हानेमा, ओँठ तथा औंला निलो भएमा, एकोहोरो  घ्यारघ्यार भएमा, शरीर चिसो भएमा तुरुन्त नजिकको  अस्पतालको आकस्मिक कक्षमा पुर्याउने !

२९ कात्तिक २०७२, आइतवार ०१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु