नयाँ नक्सा साझा भावना हो, जस लिने, देवत्वकरण गर्ने हुँदै होइन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नयाा राजनीतिक नक्सा सबैको साझा भावना भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘कसले जस लिने, कसलाई देवत्वकरण गर्ने हुँदै होइन । यो साझा भावना हो । धेरैले लामो समयदेखि उठाएका छौं । जनस्तरमा उठेको छ । आफ्नै इच्छाले अध्ययन गरेका छन्, खोजेका छन्, स्थापित गरेका छन् । यसमा हामीले कसैले जस पाउला कि भन्ने र कोही जसबाट छुट्ला कि भन्ने पनि चिन्ता गर्न पर्दैन । सर्वसम्मत गरेपछि सबैका भावना समाहित छन् भन्ने स्पष्ट छ ।’

लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदमा छ । यो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावलाई मंगलबारको प्रतिनिधि सभाको बैठकले सर्वसम्मतले पारित गरेको छ ।

मंगलबारको बैठकमा भएको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै केही सांसदहरुले नक्सालाई नै लिएर प्रधानमन्त्री ओलीतर्फ इंकित गर्दै देवत्वकरण गर्न हुन्छ वा हुँदैन भनेर बहस भएको थियो ।

त्यसबारे प्रधानमन्त्री ओलीले बुधबारको बैठकमा जवाफ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले नक्साको विषयलाई लिएर सबै राजनीतिक दलहरुले देखाएको राष्ट्रिय एकताप्रति आधार प्रकट गरेका छन् ।

‘हिजोको सभामा जुन अत्याधिक राष्ट्रिय एकता, कोभिड १९ को सवालमा र राष्ट्रियताको लागि यस्ता एकता, सुदृढ एकता अपरिहार्य छ । सम्पूर्ण दलहरुप्रति हार्दिक धन्यावाद र आभार प्रकट गर्न चाहन्छु । संसद बाहिर पनि सबैतिर राष्ट्रिय एकता प्रदर्शन भएको छ । यसमा खुसी व्यक्त गर्न चाहन्छु’ प्रधानमन्त्री ओलीले भने ।

अप्ठ्यारो बेलामा राष्ट्रिय एकता कायम हुनु नेपाली चरित्र भएको उनको भनाई छ ।

राष्ट्रलाई अगाडि बढाउने सन्दर्भमा, राष्ट्रिय एकतामा ब्यावधान नपर्ने गरी असहमतिहरु कहिले कहिले देखा परेको भएपनि जनभावना अनुरुप अगाडि बढ्न स्वाधिनता, भूमिमाथिको न्ययोचित सवाल सबैको साझा प्रयास भएको उनले बताए ।

पुर्खाले लडेर बचाएको देश अहिले अडान लिए मात्रै भौगोलिक अखण्डता कायम हुने उनले बताए । प्रधानमन्त्री ओली भन्छन्, ‘‘हाम्रा पुर्खाले यो देश लडेर बचाएका हुन्, आज हामी अडे मात्रै भौगोलिक अखण्डता कायम राख्न सक्छौं । संसदले जुन जनभावना प्रकट गरेको धेरै सरहाननीय छ ।

२८ जेठ २०७७, बुधवार ०६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु