चीनसंगको सम्बन्ध बिगार्नेलाई तत्काल कारबाही गर्नुपर्छ : नेपाल

भक्तपुर, कात्तिक २५ । नेकपा एमालेका नेता माधवकुमार नेपालले छिमेकी देश चीनबाट इन्धन आपूर्तिमा असहयोग गर्नेहरुलाई तत्काल कारबाही गर्नुपर्ने जिकिर गरेका छन् ।

एमाले, रौतहट–काठमाडाँ सम्पर्क मञ्चले बुधबार राजधानीमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले यस्तो जिकिर गरेका हुन् ।

“भारतले गरेको नाकाबन्दीले चरम अभाव खेप्नुपरेको नेपाललाई चीनले इन्धन दिन तयार रहेपछि सकेसम्म चीनबाट इन्धन ल्याउन नदिन खोज्ने र असहयोग गर्नेहरुलाई सरकारले तत्काल बर्खास्त गरेर कारबाही गर्नुपर्छ ।” उनले भने ।

उनले नेपाललाई अप्ठ्यारो पर्दा सहयोग गरेर चीनले असल छिमेकीको पहिचान दिएको छ भन्दै भारतले असल छिमेकीको भूमिका निर्वाह गर्न नसकेको बताए ।

उनले नेपालीलाई देशभक्ति, स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता प्यारो भएकाले नेपाल र नेपालीले कोही कसैसँग सम्झौता नगर्ने र नझुक्ने दृढता व्यक्त गरे ।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले एमाले नेतृत्वको सरकार राष्ट्रियताको सवालमा कुनै विदेशी शक्तिसँग झुक्न नहुने सुझाव दिँदै इन्धन आपूर्तिमा भारतको विकल्प खोज्ने बेला आएको बताए ।

नेपाल पत्रकार महासङ्घ काठमाडाँैका सभापति एवम् मञ्चका संयोजक गोविन्द चौलागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

२५ कात्तिक २०७२, बुधवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु