भारतका सामु कुनै हालतमा झुक्दिनौँ : पोखरेल

भक्तपुर, कात्तिक २५ । नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले आन्दोलनरत मधेसकेन्द्रित दलको जायज माग पूरा गर्न सकिने बताएका छन् ।

चाँगुनारायण नगरपालिका–३ थापा गाउँमा एमाले चाँगुनगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उहाँले जायज माग लिएर वार्तामा बस्न मधेसकेन्द्रित दललाई आग्रह गरे ।

कार्यक्रममा एमाले नेता महेश बस्नेतले नाकाबन्दीले भारत विश्वमाझ उदाङ्गिएको बताउँदै भारतबाट इन्धन आपूर्तिको विकल्प सरकारले खोज्ने तर ऊसँग नझुक्ने दृढता व्यक्त गरेका हुन् ।

सो अवसरमा एकीकृत नेकपा माओवादी छालिङ कमिटीका अध्यक्ष सुशील थापाको नेतृत्वमा ४० जना सङ्गठित सदस्य, राप्रपाका जिल्ला नेता देवेन्द्रजङ्ग थापाको नेतृत्वमा २०, नेपाली काँग्रेस छालिङ महिला सङ्गठनका अध्यक्ष अप्सरा कार्कीको नेतृत्वमा २३ र नेमकिपालगायत अन्य दलबाट १२५ गरी २०८ जना एमाले पार्टी प्रवेश गरेको एमाले चाँगुनगर कमिटीका संयोजक रमेश बुढाथोकीले बताए ।

त्यसैगरी आजै चाँगुनगरपालिका वडा नं ७ मा झौखेलमा एमाले ७ देखि १७ नं वडा कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रममा पनि नेपाल मजदुर किसान पार्टीका झौखेल गाउँ कमिटी उपाध्यक्ष गणेशमान सुलुको नेतृत्व र एमाओवादी जिल्ला नेता गणेशमान थुया, सुशीला मल्ल, भरत मल्ललगायतको नेतृत्वमा ११० जना एमाले पार्टी प्रवेश गरेका छन् ।

अरु दल छाडेर एमाले प्रवेश गर्नेलाई एमाले सचिव गोकर्ण विष्टले टीका र माला लगाइदिएर पार्टी प्रवेश गराउनुभएको थियो । सो अवसरमा सांसद विष्टले नेपालीले भारतले गरेको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको बताउँदै नेपाली जनताले भारतसमक्ष कुनै हालतमा आत्मसमर्पण गर्दैनन् भन्नुभयो । उहाँले राष्ट्रिय उत्पादन बढाएर आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै नाकाबन्दीले नेपालीलाई एकतामा बाँधेको बताए ।

२५ कात्तिक २०७२, बुधवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु