आज तिहारको दोश्रो दिन, कुकुर तिहार मनाइदैँ

काठमाडौँ, कात्तिक २४ । नेपालीको दोस्रो ठूलो महान चाड तिहारको आज दोस्रो दिन । आज नेपाली घरआगँनमा घरपालुवा जनावर कुकुरलाई विभिन्न मिठा मिठा परिकार तथा माला लगाइदिएर कुकुर तिहार मनाउने गरिन्छ ।

यसका साथै बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइने पनि गरिन्छ । स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ । आजै घरघरमा सुरक्षा गर्ने कुकुरको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ ।

“कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो”– समितिका अध्यक्ष गौतमले बताए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटुको रोग र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बिहानै तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । यसोगरेमा चिसो शरीरभित्र पस्दैन भन्ने धार्मिक विश्वास समेत रहिआएको छ ।

२३ कात्तिक २०७२, सोमवार १८:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु