बन्यो माओवादी क्रान्तकारी, मिले बैद्य र परि थापा
काठमाडौँ, कात्तिक २२ । एमाओवादी अलग भएका नेकपा–माओवादी र नेकपा (एकीकृत) बीच पार्टी एकता भएको छ । माओवादीको उपत्यका ब्युरोका कार्यालय कुपण्डोलमा आइतबार आयोजित संयुक्त एकता अधिवेशनमार्फत दुई पार्टीबीच एकता घोषणा भएको हो ।
दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा (माओवादी क्रान्तिकारी) राख्ने सहमति भए पनि त्यसको अन्तिम टुङ्गो राष्ट्रिय सम्मेलनले गर्ने भएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष वैद्यले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यसहित दुई पार्टीबीच एकता गरिएको बताए ।
एकीकृतसँग मात्रै होइन नेपालमा छरिएर रहेका सबै माओवादी पार्टीबीच एकता अहिलेको आवश्यकता भएको बताउँदै उहाँले त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको जानकारी दिए ।
उहाँले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले अहिले धक्का खाएको अवस्था भए पनि त्यो फेरि उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भारतले गरेको अघोषित नाकाबन्दीले नेपालमा फेरि राष्ट्रियताको आन्दोलनको आवश्यकतालाई पुष्टि गरेको बताउँदै भारतीय हस्तक्षेपको सबै नेपाली मिलेर सामना गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
एकीकृतका महासचिव परी थापाले मुलुकका सामु देखापरेका चुनौतीको सामना गर्न र क्रान्तिको दायित्व पूरा गर्न एकता गरिएको जिकिर गरे ।
दुई पार्टीबीच तीन वर्ष अगाडिदेखि एकताको प्रयास गरिए पनि अहिले आएरमात्रै त्यसले सार्थकता पाएको उनले जानकारी दिए ।
आज नै दुई पार्टीको संयुक्त केन्द्रीय समिति विघटन गरी सम्मेलन आयोजक समिति बनाएर राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मिति तय गर्ने आयोजकले जानकारी दिए ।
२२ कात्तिक २०७२, आइतवार १२:५५ बजे प्रकाशित