कानुन बनाउदा महिलाको अधिकारप्रति सचेत हुनु : सभामुख
After taking the oath of office and secrecy, Speaker Onsari Gharti assumes her office at the Parliament Secretariat, on Sunday, October 18, 2015. Photo: RSS
काठमाडौँ, कात्तिक २१ । सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनको सिलसिलामा कानुन बनाउँदा महिलाको हक अधिकारप्रति सचेत हुन आग्रह गरेकी छन् ।
व्यवस्थापिका–संसद् सचिवालयमा आज सञ्चारिका समूह नेपालको केन्द्रीय समितिसँगको छलफलमा उहाँले भन्नुभयो, “अधिकारका लागि हामी सचेत भयौँ भने अधिकार प्राप्त हुन्छ, नियम कानुन बनेर अगाडि बढ्न सकिन्छ ।”
संविधानको आधारभूत व्यवस्थाले महिलाको अधिकार सुनिश्चित गरेकाले त्यसको संरक्षणका लागि महिलाले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड थियो ।
सभामुख घर्तीले भन्नुभयो, “आत्मविश्वास र मनोबल उच्च राख्नुहोस्, अधिकारका लागि आवाज उठाउनुहोस्, म समग्र समुदाय, वर्ग, क्षेत्र र लिङ्गको अधिकारका पक्षमा हुनेछु ।”
देशको राष्ट्रप्रमुखमा महिला हुनु र आफू सर्वसहमत रुपमा सभामुखमा निर्वाचित भएको उल्लेख गर्दै सभामुख घर्तीले जिम्मेवारीलाई पूरा गर्नु समग्र महिलाका लागि चुनौति भएकाले त्यस कार्यमा सघाउन अनुरोध गर्नुभयो ।
सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले गणतन्त्र नेपालको पहिलो महिला सभामुखमा निर्वाचित हुनुभएकामा समग्र महिलाको गर्वको विषय भएको उल्लेख गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
२१ कात्तिक २०७२, शनिवार १३:०७ बजे प्रकाशित





