एमाओवादीको दाबी : भारतको नाकाबन्दी औचित्यहीन
काठमाडौँ, २१ कात्तिक । एकीकृत नेकपा (माओवादी)ले तराई मधेसको समस्या नेपालको आन्तरिक समस्या भएकाले आफैँ सुल्झाउने बताएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले मधेसी जनसमुदाय नेपाली जनता भएकाले मधेसको समस्या पनि हामी आफैले समाधान गर्ने र त्यसमा भारतले अनावश्यक चासो देखाउनुको कुनै औचित्य नभएको जिकिर गरे ।
आफ्नो पार्टी नेतृत्व मधेसका नेतासँग नियमित सम्पर्कमा रहेको बताउँदै उहाँले मधेसी नेता पनि वार्ता र छलफलबाट समस्याको समाधान गर्न सकारात्मक भएको स्पष्ट पारे ।
प्रवक्ता शर्माले भारतले आफूहरुलाई कुनै दानमा सामान पठाउने गरेको नभई किनेर ल्याउने सामानमा अवरोध गरेर अमानवीय सङ्कट सिर्जना गरेको बताए ।
उनले भारतले सामान्य युद्धका नियमको पनि पालना नगरेर औषधि, इन्धन, पाठ्यसामग्रीकोे पारवाहनमा अवरोध पु¥याएको बताए । उनले भने “रेडक्रसमा रक्तदान गर्नेछन् तर रगत सङ्कलन गर्ने ब्याग भारतले रोकेको छ ।”
प्रवक्ता शर्माले भारतले जारी राखेको अघोषित नाकाबन्दीका कारण कालोबजारी बढेको र यसले र्विसाधारण जनता निकै मर्कामा परेकाले वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।
फरक एक प्रसङ्गमा डा बाबुराम भट्टराईले नयाँ शक्तिका नाममा चालेको कदम दक्षिणपन्थी विसर्जनवाद भएको बताउँदै प्रवक्ता शर्माले भने, “बाबुरामले एमाओवादी फुटाएर गल्ती गरे । उनको नयाँ शक्ति कुन विचार र दर्शनका आधारमा बनाउने भन्ने कुनै प्रष्ट छैन ।”
२१ कात्तिक २०७२, शनिवार १३:०१ बजे प्रकाशित