अरुले नपत्याएपछि रेले नेपालसंग विन्ती विसाए !
काठमाडौँ, १९ कात्तिक । नेपालका लागि भारतीय राजदूत रणजीत रेले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाल)का नेता माधवकुमार नेपालसँग बुधबार भेटवार्ता गरेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालको निवास कोटेश्वरमा भएको भेटमा उनीहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको थियो ।
भारतीय राजदूत रेले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा केही समस्या देखिएको र नेपालमा भारतप्रति नकारात्मक भावनाको वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गर्दै भारतले नाकाबन्दी नगरेको र मधेस केन्द्रित दलहरुको आन्दोलनलाई भारतले सहयोग गरेको भनी गरिएको प्रचार सत्य नभएको बताए ।
जवाफमा पूर्व प्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरु प्रतिबद्ध रहेको उल्लेख गर्दै आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूतमार्फत भारत सरकारसँग आग्रह गरेका थिए ।
उनले नेपालमा भारत विरोधी धारणा विकास हुनमा के–कस्ता कुराहरुले प्रभाव पा¥यो भनी विशेष अध्ययन गर्नुपर्ने र त्यसको आधारमा समाधान खोज्नुपर्ने उल्लेख गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
१९ कात्तिक २०७२, बिहीवार ०२:४२ बजे प्रकाशित