दुर्गा तिवारीको हत्यामा संलग्न सार्वजनिक

रूपन्देही, १५ फागुन । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन भएको उल्लेख गरेको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये मुख्य योजनाकार पुनसहित पाच जना फरार छन् भने सात जना पक्राउ परेका छन् । रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र अपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताए । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् ।

घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिए। सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागाईँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।

१५ फागुन २०७३, आइतवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु