भारत थप चर्कियो, लुम्बिनीका सीमानाका पनि बन्द

रुपेन्देही, कात्तिक १६ । नेपालसँग सीमा जोडिएको लुम्बिनी अञ्चलका तीन जिल्लाका सीमानाकाबाट आज दिउँसोदेखि आयातनिर्यात ठप्प भएको छ । भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै भारततर्फबाट कुनै पनि मालवाहक साधन नेपाल पठाउन मानेको छैन । नेपालका तर्फबाट पनि मालवाहक साधन भारत प्रवेशमा रोक लगाएको छ ।

लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको भारतसँग सीमा जोडिएका बेलहिया, महेशपुर, मर्यादापुर र कृष्णनगर नाकाबाट कुनै पनि मालवाहक साधन आवतजावतमा रोक लगाइएको लुम्बिनी अञ्चल प्रहरी कार्यालय भैरहवाका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार भारतीय पक्षबाट मोटरसाइकल, साइकल तथा रिक्साबाहेकका कुनै पनि साधन आएका छैनन् भने नेपालका तर्फबाट पनि मालवाहक साधन तथा सवारीसाधनलाई रोक लगाइएको छ ।

आज अपराह्न साढे १२ बजेदेखि सम्पूर्ण नाकाबाट मालवाहक साधन आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

रक्सौल नाकामा रोकिएका ग्यासका बुलेटसहित थुप्रै मालवाहक र इन्धनका गाडी निर्बाध रुपमा आइरहेको रुपन्देहीको बेलहिया नाकामा एक्कासि रोक लगाइएपछि नेपालमा आपूर्ति व्यवस्था ठप्प भएको छ ।

नाका सञ्चालन गर्ने विषयमा भारतीय अधिकारीसँग छलफल अगाडि बढाइएको रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले जानकारी दिए । नेपालको दोस्रो ठूला नाका बेलहिया ठप्प इन्धनलगायत खाद्यान्नमा अझै ठूलो सङ्कट पैदा हुने आशङ्का गरिएको छ ।

१६ कात्तिक २०७२, सोमवार ०८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु