भोटेकोसीको त्रासले १५ घर परिवारको उठिबास !
काठमाडौँ, २९ साउन । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी कोदारीस्थित १५ घर उच्च जोखिममा परेका छन् । बाढीको कटान नरोकेकाले कोदारीका थप १५ घर उच्च जोखिममा परेका सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।
यसअघि हिजोमात्रै बाढीको कटानले कोदारीको एउटा होटलसहित थप तीन घर बगाएको थियो । योसंगै बाढीले करिब डेढ महिनाको अवधिमा एक विद्यालय, एक होटल, र टहरासमेत गरी तातोपानी र बाह्रविसेमा एक सय घर टहरा बगाएको छ । त्यसैगरी, एक बेलिवृज, एक झोलुङगे पुल तथा चार सवारी साधन पनि बाढीले बगाएको छ ।
बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटर सडकको विभिन्न स्थानमा खसेको पहिरो र नदी कटानले ठाउँठाउँमा सडक बगाएपछि यातायात प्राय ठप्प छ । डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेको भएपनि सफल हुन सकेको छैन ।
२९ साउन २०७३, शनिवार ११:४३ बजे प्रकाशित