परिवार दलको दोश्रो महाधिवेशनको तयारी पूरा

FFFFFकाठमाण्डौ, असार १९ । ‘हाम्रो मूल मन्त्रः असल परिवार, समृद्ध नेपाल र अग्रपन्थी लोकतन्त्र’ भन्ने नारा सहित नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशन यहि असार २१ र २२ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय, पुरानो बानेश्वरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनलाई सभ्य, भव्य र व्यवस्थित रूपले आयोजना गर्न विभिन्न १७ वटा समिति नै गठन गरिएको पार्टी प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यसअघि देशैभरमा सम्पन्न जिल्ला, क्षेत्र र प्रादेशिक अधिवेशनबाट चयन भएका १ हजार २ सय प्रतिनिधिहरुको सहभागिता रहने उक्त महाधिवेशनमा पर्यवेक्षक तथा विदेशी शुभेच्छुकहरुको समेत सहभागिता रहने बताइएको छ । अधिवेशनमा भारत लगायत विभिन्न १५ देशका प्रतिनिधिहरुको महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता रहनेछ ।

२१ असारमा विहान ११ः३० मा उद्घाटन हुने कार्यक्रममा मुख्य राजनीतिक दलहरुका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन महाधिवेशनको बन्द शत्र सञ्चालन हुनेछ भने २२ गते विहान ८ः०० बजे अधिवेशनबाट तय भएका पार्टीको नीति तथा कार्यक्रमको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

दुई दिनसम्म आयोजना हुने उक्त महाधिवेशनमा करिब ३० लाख खर्च लाग्ने महाधिवेशन प्रतिनिधि दर्ता शुल्क, पार्टीको केन्द्रीय तथा प्रादेशिक पदाधिकारी एवं सदस्यहरुबाट प्राप्त सहयोगबाट व्यहोरिने आर्थिक व्यवस्थापन समिति संयोजक गोविन्द मिश्रले जानकारी दिए ।

मुलुकका २४० निर्वाचन क्षेत्र र ७५ वटै जिल्लामा सङ्गठन रहेको नेपाल परिवार दलमा हाल एक लाख सदस्य र ३२ हजार क्रियाशील सदस्य रहेको पार्टी प्रवक्ता सन्तोष पौडेलले बताए ।

संविधानसभाको पहिलो निर्वाचनभन्दा केही महिनाअघि स्थापित दलको पहिलो अधिवेशन २०६७ सालमा भएको थियो । ‘अग्रपन्थी लोकतन्त्र’लाई आफ्नो राजनीतिक दर्शन मान्ने परिवार दल मुलुकमा वैकल्पिक लोेकतान्त्रिक शक्तिका रुपमा स्थापित भएको छ दलको दाबी छ ।

नेपालको संविधान २०७२ जारी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल परिवार दलले ‘नैतिक उत्थान र सामाजिक–आर्थिक रूपान्तरणको अठोटको महाधिवेशन’ भनेरै नामाकरण गरेको छ ।’

संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषणा गरी तराई मधेशका वासिन्दाहरूको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने लगायतका बिषयहरुमा महाधिवेशनका बृहत रुपमा छलफल हुने बताइएको छ ।

१९ असार २०७३, आइतवार ११:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु