राजनीतिमा युवाहरुको सहभागिता गराउन माग
काठमाडौँ, १ जेठ । मुलुक निर्माणका आधारस्तम्भ मानिने युवाहरुलाई सक्रिय राजनीतिमार्फत नीति निर्माण क्षेत्रमा सहभागी गराउन युवाहरुले माग गरेका छन् । शनिबार राजधानीमा चेयर्स नेपालले आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने युवाहरुले राजनीतिमा अनिवार्य रुपमा युवाहरुलाई सहभागी गराउनुपर्ने माग गरेका हुन् ।
टोनी हेगन फाउण्डेसनको सहयोगमा युवा संसद नै बनाएर युवाहरुले राजनीतिमा युवाहरुको सहभागिता आवश्यक छ वा छैन् भन्ने विषयको पक्ष र विपक्षमा आफ्नो भनाई राखेका थिए । पेशाले चिकित्सक रहेका युवा विनय पजियारले युवाहरु विना देशको विकास हुन नसक्ने भन्दै युवाहरुलाई अनिवार्य रुपमा राजनीतिमा सहभागी गराउनुपर्ने बताए ।
उनले राजनीतिमा युवाहरुको भूमिकालाई पार्टी र नेताहरुले शब्दमा सिमित नराखी नीति निर्माण तहमा पुर्याउन युवाहरुलाई सक्रिय राजनीति गराउन प्रेरित गर्नुपर्ने बताए ।
‘आज युवाहरु कुनै न कुनै पार्टीको झोले कार्यकर्तामा सिमित रहेको छ। अब पनि युवाहरुलाई सिमित काममा लगाउने हो भने मुलुकको विकास कहिल्यै हुन सक्दैन् ।’ उनले भने ।
कार्यक्रममा अर्का युवा प्रकाश थापा क्षेत्रीले युवाहरुकै देनले देश विदेशमा नेपालको नाम चिनिएको भन्दै युवाहरुको क्षमतालाई बृद्धि विकास गर्न आवश्यक रहेको बताए ।
क्रिकेट, फुटबल लगायतका खेलकुदका क्षेत्रमा युवाहरुले नै देशलाइ देन दिएको भन्दै उनीहरुको क्षमतालाई विस्तार गर्न युवालाई नै जिम्मेवार राजनीतिमा सहभागी हुनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा युवा विद्यार्थी संगीता तिमिल्सेनाले राजनीतिमा भएका युवाहरु पनि सिमित स्वार्थमा रहेको भन्दै देशका लागी सोच्ने र लाग्ने युवाको खाचोँ औल्याइन् । युवाहरुमा व्यक्तिभन्दा राष्ट्रप्रतिको सोच आवश्यक रहेको भन्दै तिमिल्सेनाले अहिलेको राजनीतिक नेतृत्वले युवा सहभागितालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।
युवा संसदलाई सभामुखको भूमिका युवा दिनेश थापाले दिएका थिए । करिब एक सय बढी युवाहरु सहभागी कार्यक्रममा दुई दर्जन युवाहरुले पक्ष र विपक्षी बनेर राजनीतिमा युवा सहभागिताको माग गरेका थिए ।
कार्यक्रममा पर्यवेक्षकका रुपमा सहभागी भएका व्यवस्थापिका संसदका सचिव तोयानाथ भट्टराईले राजनीतिमा युवाहरुको सक्रिय सहभागिताका लागी रचनात्मक भूमिका आवश्यक रहेकोमा जोड दिए । मुलुकको विकासका लागी युवाहरु सक्रिय राजनीतिमा सहभागी गराउनुपर्ने भन्दै चेयर्स नेपालले विगत दुई बर्षदेखि युवाहरुमाझमा प्रत्यक्ष छलफल गराउदँैँ गएको छ ।
३ जेठ २०७३, सोमवार ०१:०८ बजे प्रकाशित