कांग्रेस संसदीय दलको विधान संसोधन, कार्यसमिति ३६ सदस्यीय
काठमाण्डौँ, २२ चैत । कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकले संसदीय दलले प्रस्ताव गरेको विधान अनुमोदन गरेको हो । विधानमा अन्तरिम संविधान २०६३ को सट्टा संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद, विकास क्षेत्रको सट्टा प्रदेशको ब्यबस्था गरिएको छ ।
दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरिएको छ । कांग्रेसले संसदीय दलको नेताको निर्वाचन पर्सी र संसदीय कार्यसमितिको निर्वाचन २६ गते गर्ने तय गरेको छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
यसअघि बसेको संसदीय दलको बैठकले संसदीय दलको कार्यसमितीको आकार समेत बढाउने सहितको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।
कांग्रेसले कार्यसमिति २४ बाट बढाएर ३६ पुर्याएको छ ।
२२ चैत २०७२, सोमवार १५:३६ बजे प्रकाशित