यसबर्षको होली शान्त
काठमाडौं, ९ चैत । आपसमा रंग दलेर तथा पानी छ्यापाछाप गरेर मंगलबार हर्षोल्लासपूर्वक होली पर्व मनाइएको छ ।
होलीमा सरकारले सार्वजनिक विदा दिएका कारण काठमाडौ उपत्यकाका सडक र चोकहरु होलीमय भएका थिए । रंगहरुको पर्व होलीमा खासगरी बालबालिका र युवायुवतीहरु बढी रमाउने गर्छन ।
यस्तै विगत बर्षमा भन्दा यसबर्षको होली निक्कै शान्त र सभ्य देखिएको छ । कुनै अप्रिय घटनाहरु भएनन । होलीको बहानामा अवाञ्छीत गतिविधी गर्ने तिन सय ८ जनालाई भने प्रहरीले पक्राउ गरेको छ । उपत्यकाका तिनै जिल्लाबाट गरी तिन सय ८ जना पक्राउ परेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जानकारी दिएको छ । मादक पदार्थ सेवन गर्ने, जथाभावी लोला हान्ने, अरुको इच्छा विपरित रंग लगाउनेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रमाईको गर्ने बहानामा ट्राफिक नियम उलङ्घन गर्ने एक हजार ६ सय ६१ सवारी चालक पनि कारवाहीमा परेका छन् । जथाभावी लोला हान्नेविरुद्ध कारबाही तीव्र पारेको प्रहरीले काठमाडौंका ५३ स्थानमा चेक प्वाइन्ट राखेर सवारी चालकको निगरानी गरेको थियो । रातिमा मादकपदार्थ सेवन गरेर सवारी चलाउने तथा गलत गतिविधि गर्ने समूह सक्रिय हुनसक्ने भन्दै प्रहरीले दिउँसोको तुलनामा बढी निगरानी गरेको छ ।
९ चैत २०७२, मंगलवार १५:५२ बजे प्रकाशित