होली विशेष सुरक्षा अभियान
काठमाडौं, ७ चैत । होलीका बेला जबरजस्ती लोला हान्नेलाई सार्वजनिक मुद्दा लगाइने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रहरी प्रमुखहरुले राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी छतबाट होली हान्ने तथा मापसे गरेर सवारी चलाउनेलाई पनि कारबाही गरिने जनाएको छ । रगंहरुको पर्व होली आउन दुई दिनमात्रै बाँकी रहँदा प्रहरी प्रमुखहरुले पत्रकार सम्मेलन मार्फत होलीलाई मर्यादित र सभ्य बनाउन आग्रह गरेका छन ।
कार्यक्रममा काठमाडौंका एसएसपी विक्रमसिंह थापाले सडकमा मादक पदार्थ सेवन गर्दै हिँड्ने, अरुलाई जबरजस्ती फोहोर पानी हाल्ने र रंग लगाउने जस्ता गतिविधि गरेको पाइए नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाइने बताउनुभयो ।
भक्तपुरका प्रहरी प्रमुख एसपी किरण बज्राचार्य र ललितपुरका एसपी अशोक सिंहले होलीका नाममा विकृति नफैलाउन सबैलाई आग्रह गर्नुभयो ।
ट्राफिक महाशाखाका प्रमुख डीआइजी प्रकाश अर्यालले होलीको दिन उपत्यकाका विभिन्न ५३ स्थानमा ट्राफिक प्रहरीले चेकिङ गर्ने ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
घरको छतमा बसेर अरुलाई लोला हान्दा लडेर दुर्घटना निम्तिन सक्ने भन्दै प्रहरीले आफ्ना बालबालिकाप्रति सचेत रहन पनि अभिभावकहरुलाई भनेको छ ।
७ चैत २०७२, आइतवार ११:१८ बजे प्रकाशित