अर्थतन्त्रको विकासमा लागौँ : प्रचण्ड
काठमाडौँ, ८ फागुन । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सो पार्टीको उत्पादन विभागको बैठकलाई सम्बोधन गर्दै उनले समाजवादी अर्थतन्त्रको विकासका लागि सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताए ।
अध्यक्ष दाहालले नेपालको संविधानले समेत समाजवादलाई आत्मसात् गरेकाले सोहीअनुसारको नीति तथा कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । उनले आगामी एक दशक आर्थिक समृद्धिको मार्गमा प्रतिबद्ध भएर लाग्नुपर्ने र त्यसको नेतृत्व समेत एमाओवादीले नै गर्नुपर्ने उल्लेख गरे ।
उत्पादनलाई राजनीतिसँग जोडेर अगाडि लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले उत्पादनसँग नजोडिएको राजनीति र समाजवादसँग नजोडिएको अर्थतन्त्रले मुलुकको फाइदासमेत नगर्ने जिकिर गरे ।
सामन्तवादको अन्त्यसँगै समाजवादको दिशामा अगाडि बढेको नेपाली समाजलाई नयाँ नेतृत्व प्रदान गर्दै समृद्ध तुल्याउनु आजको प्रमुख आवश्यकता भएको उनको कथन थियो ।
एमाओवादीको हेटाँैडा महाधिवेशनले समेत उत्पादन र नवनिर्माणलाई जोड दिएको सन्दर्भ उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तासमेत उत्पादनमा केन्द्रित हुनुपर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकासमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
बैठकमा स्थायी समिति सदस्य एवम् उत्पादन विभाग प्रमुख लोकेन्द्र विष्टले ‘उत्पादन श्रमसम्बन्धी कार्ययोजना’ प्रस्तुत गरेका थिए । विष्टले पेस गर्नुभएको कार्ययोजनामाथि शनिबार पुनः छलफल हुने उत्पादन विभाग सदस्य केशव नेपालले जानकारी दिए ।
रासस
८ फागुन २०७२, शनिवार ०३:३२ बजे प्रकाशित