आज महाअष्टमी, देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो

इपब्लिक संबाददाता, काठमाण्डौँ ।नेपाली हिन्दुहरुको महान चाड बडादशैंको आज आठौं दिन महाअष्टमी, हर्षोल्लासका साथ शक्तिस्वरुपा नवर्दुगा भवानीको पूजा आरधाना गरि मनाईदैछ । देशभरका शक्तिका प्रतीक महाकाली महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको घुइचों लागेको छ । काठमाडौँ उपत्यका भित्रका शक्तिपीठहरू दक्षिणकाली, गुहृेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरूको बिहानैदेखि घुइँचो छ । गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारालगायतका मन्दिरमा पनि शक्तिरूपा भगवतीको पूजाअर्चनाका लागि विशेष भिड लाग्छ ।  महाअष्टमी कै अवसरमा दसैँघर तथा जमरा कोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारीसाधन सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

४ कात्तिक २०७२, बुधवार ०२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु