बल्ल घट्यो पेट्रोलियम पदार्थको मूल्य !

Petroleum-pump-price-falls-to-N87-per-litre-in-Nigeria-iCampus-newspaperकाठमाडौँ, ४ माघ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनले यही माघ २ गते पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा रु पाँच र डिजेल र मट्टितेलमा रु ६ घटाएको छ ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर रु १०४ र डिजेल र मट्टितेल रु ८१ मा बिक्री वितरण हुँदै आएको थियो ।

यस्तै, रु २३२ प्रतिलिटरमा बिक्री वितरण हुँदै आएको हवाई इन्धनको मूल्य पनि घटेको छ । नयाँ मूल्यसूचीअनुसार हवाई इन्धनको मूल्य रु १६४ हुनेछ । तर निगमले खाना पकाउने ग्यासको भने मूल्य घटाएको छैन ।

गत असोज ३ गतेदेखि मागअनुसार आयात गर्न नसकेको निगमले करिब चार महिनापछि मूल्य समायोजन गरेको हो । निगमले २०७१ भदौ १३ गते स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।

स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको निगमले मागअनुसार आपूर्ति गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि बिक्री मूल्यमा समायोजन गर्न सकेको थिएन ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल अमेरिकी डलर २८ रहेको छ । एक ब्यारेल बराबर १६२ लिटर हुन आउँछ ।

भारतको अघोषित नाकाबन्दीपछि रक्सौलबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आयात भएपनि बजारको माग धान्न सकेको छैन । मुलुक भित्रने कुल परिणाममध्ये रक्सौल नाकाबाट मात्रै ७० प्रतिशत पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो । सो नाका गत असोजदेखि ठप्प प्राय रहेको छ ।

अन्य नाकाबाट ३० प्रतिशत मात्रै आयात भएको अवस्थामा बजारमा अभाव भने कायम नै रहेको छ ।

४ माघ २०७२, सोमवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु