कालोबजारीका ६७ थान ग्यास प्रहरी नियन्त्रणमा
इनरुवा, ४ माघ । सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा रु तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको कालोबजारी गरेर रु छ हजार लिई बिक्रीवितरण गरिरहेका ट्रेर्डसका मेनेजर टङ्क कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले कोइरालासँगै गङ्गा ट्रेडर्समा कालोबजारी गर्नका लागि राखिएका ६७ थान विभिन्न कम्पनीको ग्यास सिलिन्डर समेत बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।
कालोबजारी गरिरहेको गोप्य सूचनाका आधारमा कोइराला सहित ६७ थान सिलिन्डर बरामद गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ माघ २०७२, सोमवार १७:५५ बजे प्रकाशित