भारतीय नाकाबन्दीले निर्यात घट्योः राष्ट्र बैँक

Nepal-Rastra-Bankकाठमाडौँ, ४ माघ । नेपाल राष्ट्र बैंकले मुलुकको निर्यात व्यापार घट्दै गएको देखाएको छ । बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक अवस्था आज सार्वजनिक गर्दै कुल वस्तु निर्यात २९.१ प्रतिशतले ह्रास आई रु २६ अर्ब १७ करोडमा सीमित भएको जनाएको छ ।

भारतको अघोषित नाकाबन्दीपछि दक्षिणका भन्सार नाका बन्द भएका छन् भने गोरखा भूकम्पका कारण उत्तरतर्फको तातोपानी नाकासमेत अवरुद्ध भएका कारण निर्यात घटेको बैंकले उल्लेख गरेको हो ।

वस्तुगत आधारमा भारतर्फ जिङ्क, लत्ताकपडा, जुस, जिआइ पाइपलगायतका वस्तु र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाकलगायतका वस्तु र अन्य मुलुकतर्फ दाल, चिया, हस्तकलाका सामानको निर्यात घटेको हो । अघिल्लो वर्ष सोही अवधिमा निर्यात १.२ प्रतिशतले कमी भई रु ३६ अर्ब ९१ करोड रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात ३२ प्रतिशतले घटेर रु दुई खर्ब १३ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो आयात १६.३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १४ अर्ब ५२ करोड पुगेको थियो ।

तराई क्षेत्रमा जारी आन्दोलन र दक्षिणी सीमा नाकामा रहेको अवरोधका कारण आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकाले पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घट्न गई समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर ऋणात्मक रहन गएको बैंकले जनाएको छ ।

बैंकका अनुसार भारतबाट आयात ३९.२ प्रतिशतले, चीनबाट १४.१ प्रतिशतले र अन्य मुलुकबाट हुने आयात २२.६ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको पाँच महिनाको रु ४९ अर्ब ८८ करोडबाट ६६.२ प्रतिशतले घटी रु १८ अर्ब ३५ करोडमा सीमित भएको छ । मेसिनरी पार्टपूर्जा, स्टिल डण्डी, चाँदी, कच्चा सोयाविन तेल र खाद्य तेललगायत पुँजीगत सरसामान, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको आयात उल्लेख्य घटेको छ ।

विप्रेषण बढ्यो

त्यसैगरी, बैंकका अनुसार पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह १९।४ प्रतिशतले बढेको छ । सो अवधिमा विप्रेषण आय रु तीन खर्ब १५ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको पाँच महिनामा यस्तो आय १.३ प्रतिशतले मात्रै बढेको थियो । तर अन्तिम श्रम स्वीकृतिका आधारमा हेर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने २२.६ प्रतिशतले घटेको छ ।

विदेशी विनिमय सञ्चिती बढ्यो

बैंकका अनुसार वैदेशिक मुद्रा सञ्चितिमा २०७२ असार मसान्तको रु आठ खर्ब २४ अर्ब छ करोडबाट १९.६ प्रतिशतले वृद्धि भई २०७२ मङ्सिर मसान्तमा रु नौ खर्ब ८५ अर्ब ५२ करोड रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.१ प्रतिशत रहेको छ ।

धान उत्पादन घट्ने

बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार धानको उत्पादन १० प्रतिशतले घट्ने देखिएको छ । तर मकैको उत्पादन भने चार प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रासायनिक मलको आपूर्ति सहज हुन नसकेकाले हिउँदे बाली, खासगरी गहुँ उत्पादनसमेत प्रभावित हुने देखिएको छ ।

खाद्य तथा पेयपदार्थमा मूल्य वृद्धि भएको छ । दलहन तथा गेडागुडीको मूल्य ४८.९ प्रतिशत, घिउ तथा तेलको मूल्य ४२.३ प्रतिशतले बढेको छ । मसला, लत्ताकपडा एवम् जुत्ता, फलफूल तथा माछा मासुको मूल्यमा क्रमशः १५.३ प्रतिशत, १४.६ प्रतिशत, १४।.३ प्रतिशत र १३.९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.२ प्रतिशतले मूल्य वृद्धि भएको छ । यस्तै, पहाडमा १२.४ प्रतिशत, हिमालमा १०।३ प्रतिशत र तराईमा १०.२ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौँ उपत्यका र पहाड दुवैमा ६.९ प्रतिशत र तराईमा ७.२ प्रतिशत रहेको थियो । रासस

४ माघ २०७२, सोमवार १७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु