काँग्रेस सरकारमा जादैँन – देउवा
पोखरा, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस तत्काल सरकारमा नजाने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले शुक्रबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले सरकारलाई ठीकसँग चलाउन बलियो प्रतिपक्षीको खाँचो पर्ने भएकाले काँग्रेसले प्रतिपक्षीमै रहेर राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने धारणा राखे ।
नयाँ संविधान जारी भएपछि सीमाङ्कन र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्छ भनेर केही मधेसवादी दलको असन्तुष्टि पैदा भएको स्मरण गराउँदै उहाँले नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावले उनीहरुको माग पूरा हुने र देशमा सहज वातावरण बन्ने दाबी गरे ।
नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशन पार्टी एकता र संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले लामो समयदेखि जनप्रतिनिधिहरुबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएको विचार व्यक्त गरे ।
उनले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यबाट बनेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएको टिप्पणी गरे ।
युनियनका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
१ माघ २०७२, शुक्रवार ०४:४१ बजे प्रकाशित